अमेरिकी राष्ट्रपति निर्वाचन : डनल्ड ट्रम्प जित नजिक

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपति निर्वाचन : डनल्ड ट्रम्प जित नजिक

काठमाडौं । विश्वशक्ति राष्ट्र अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले आफू विजयी भएको उद्घोष गर्नुभएको छ ।

फक्स न्यूजले ट्रम्प विजयी भएको प्रक्षेपण गरेपछि आफ्ना उत्साहित समर्थकहरुलाई फ्लोरिडामा सम्बोधन गर्दै ट्रम्पले यस्तो दाबी गर्नुभएको हो । अमेरिकाका अन्य समाचारमाध्यमले भने अझै ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेको प्रक्षेपण गरिसकेका छैनन् ।

नाराबाजी गरिरहेका आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकाले आफूहरुलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको बताउनु भयो । ट्रम्पले ब्याटलग्राउन्ड वा स्वीङ स्टेट भनेर पहिचान गरिएका सात राज्यमध्ये पेन्सिल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा विजय हात पारेको र कमला ह्यारिस विजयी हुन साँघुरो मार्गमात्रै बाँकी रहेको बीबीसीले टिप्पणी गरेको छ ।

अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्प जितनजिक पुग्नु भएको छ। सीएनएनका अनुसार ट्रम्पले हालसम्म २ सय ६६ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ । जितका लागि २ सय ७० मत आवश्यक पर्छ ।

यता, डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले १ सय ९५ इलेक्ट्रोरल मतमा अगाडि हुनुहुन्छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। तर, अन्तिम नतिजा आउन २-३ दिनसम्म लाग्न सक्ने देखिन्छ ।

५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन्। त्यस्ता राज्यहरू 'ब्लू' र 'रेड' स्टेटका रूपमा चिनिन्छन्। डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई 'ब्लू' र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई 'रेड' स्टेटका रूपमा चिनिन्छ। अमेरिकी मतदाताले राष्ट्रपति मात्र नभई तल्लो सदन र माथिल्लो सदन-सिनेटका लागि समेत मतदान गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement