अमेरिकी जनताले हामीलाई शक्तिशाली जनादेश दिएका छन् : डनल्ड ट्रम्प

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी जनताले हामीलाई शक्तिशाली जनादेश दिएका छन् : डनल्ड ट्रम्प

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्प जितनजिक पुग्नु भएको छ ।

निकै प्रतिस्पर्धात्मक मानिएको पेन्सिलभेनियामा जित हासिल गरेसँगै ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने निश्चितजस्तै देखिएको छ ।

सीएनएनका अनुसार ट्रम्पले हालसम्म २ सय ६६ इलेक्ट्रोरल मत प्राप्त गर्नु भएको छ । जितका लागि २ सय ७० मत आवश्यक पर्छ । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पको जित निश्चित भएको घोषणा गरिसकेको छ । जित निश्चित भएपछि समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकी जनताले आफूलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको बताउनु भएको छ । यो आफूको शानदान जित भएको उहाँको भनाइ छ ।

यता, डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले १ सय ९४ इलेक्ट्रोरल मतमा अगाडि हुनुहुन्छ । जितका लागि निणरयक मानिएका ७ स्वीङ स्टेटमध्ये पेन्सिलभेनिया, नर्थ क्यारोलाइना र जर्जियामा ट्रम्प विजयी हुनु भएको छ । यो जितले ट्रम्पले ह्वाइट हाउस पुनः प्रवेश सहज बनाएको हो ।

अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५ सय ३५ र संघीय राजधानी 'डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। तर, अन्तिम नतिजा आउन २ र ३ दिनसम्म लाग्न सक्ने देखिन्छ । ५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन् । त्यस्ता राज्यहरू 'ब्लू’ र 'रेड’ स्टेटका रूपमा चिनिन्छन् ।

डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई 'ब्लू’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई 'रेड’ स्टेटका रूपमा चिनिन्छ । अमेरिकी मतदाताले राष्ट्रपति मात्र नभई तल्लो सदन र माथिल्लो सदन (सिनेट)का लागि समेत मतदान गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement