स्वीङ स्टेट पेन्सिल्भेनियामा ह्यारिस भन्दा ट्रम्प अगाडि, कुन राज्यमा कसको अग्रता ?

हवाइ र अलास्का बाहेक सबै राज्यमा मतदान सम्पन्न
कार्तिक २१, २०८१ |प्रभात सिंह
स्वीङ स्टेट पेन्सिल्भेनियामा ह्यारिस भन्दा ट्रम्प अगाडि, कुन राज्यमा कसको अग्रता ?

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि हिजो रातिदेखि सुरु भएको मतदान ५० मध्य ४८ राज्यमा सम्पन्न भएको छ । हवाइ र अलास्का बाहेक सबै राज्यमा मतदान सम्पन्न भएको बीबीसीले जनाएको छ । 

मतदान सम्पन्न भएका केहि स्थानमा भने मतगणना जारी छ । स्वीङ स्टेट जर्जिया, नर्थ क्यारोलाइना त्यसैगरी इन्डियाना, केन्टिकी राज्यमा मतदान सम्पन्न भइसकेको बीबीसीले जनाएको छ ।

अमेरिकी राज्य पेन्सिल्भेनियामा आधाभन्दा बढी मतगणना भइसकेको छ । अहिलेसम्मको मतगणनामा रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प अगाडि हुनुहुन्छ भने डेमोक्याट उम्मेद्वार कमला ह्यारिस पछाडि पर्नुभएको छ ।

सबैभन्दा धेरै १९ इलेक्टोरल कलेज भोट रहेको पेन्सल्भेनिया राज्यलाई दुवै उम्मेद्वारले महत्वपूर्णरुपमा लिएका छन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले जर्जियामा मात्र ०.७२ प्रतिशत मतको अन्तरले जित हासिल गर्नुभएको थियो भने चार वर्षपछि सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन १.१७ प्रतिशत मतको अन्तरले विजयी हुनुभएको थियो ।

यस्तो अवस्थामा ट्रम्प र ह्यारिसबीच यसपटक कसले जित्ला भन्ने तत्काल अनुमान गर्न कठीन देखिएको छ । पेन्सिलभेनियामा कानुनअनुसार डाकबाट प्राप्त मतपत्रको मतगणना निर्वाचनको दिनसम्म सुरु गर्न नपाइने भएकोले त्यहाँ मतगणना सुस्त गतिमा भइरहेको बीबीसीले जनाएको छ ।

२०२० को चुनावमा जस्तै पेन्सिलभेनियामा कसले बाजी मार्ला भनेर पत्ता लगाउन धेरै दिन लाग्ने अनुमान गरिएको छ । यसैबीच स्वीङ स्टेट मिसिगनमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतगणना समेत सुरु भएको छ । त्यहाँ ८ प्रतिशत मतदान सम्पन्न हुँदा ह्यारिसले अग्रता लिइरहनुभएको छ ।

५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये दुवै उम्मेदवारलाई जित हासिल गर्न २ सय ७० मत आवश्यक पर्छ । बीबीसीका अनुसार अहिलेसम्म ट्रम्पले २ सय ३० इलेक्ट्रोरल कलेजमा अग्रता लिइरहनु भएको छ । यता, ह्यारिसले १ सय ६५ इलेक्ट्रोरल कलेजमा अग्रता लिइरहनु भएको छ । 

त्यस्तै फ्लोरिडा, अलाबामा, मिसौरी, ओक्लाहोमा, टेनेसी, लुइसियाना, टेक्सास, वायोमिङ, दक्षिण डकोटा, उत्तरी डकोटा, अर्कान्सास, दक्षिण क्यारोलिना अहिलेसम्म रिपब्लिकन उम्मेदवार ट्रम्पको जितको अनुमान गरिएको छ भने न्यू योर्क, कोलम्बिया जिल्ला, मेरील्याण्ड, म्यासाचुसेट्स, रोड आइल्याण्ड, डेलावेयर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसको जितको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement