वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोर शहरमा ग्रिन लकडाउन

कार्तिक १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
वायु प्रदूषण उच्च भएपछि पाकिस्तानको लाहोर शहरमा ग्रिन लकडाउन

काठमाडौं । पाकिस्तानको लाहोर सहर विश्वकै सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ । आइतबार लाहोर सहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी निकायले प्राथमिक विद्यायललाई एक साताका लागि बन्द गर्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।

त्यस्तै लाहोरको वायू प्रदुषण अत्याधिक खराब भएपछि आजबाट त्यहाँका कार्यालयका करिब ५० प्रतिशत कर्मचारीलाई घर बाटै काम गर्न सरकारले निर्देशन जारी गरेको छ । पाकिस्तानले ‘ग्रिन लकडाउन’ योजनालाई लागु गरेको र त्यस अन्तर्गत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको हो ।

पाकिस्तानको हावामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले यस्तो कदम चालेको हो । अहिले शहरमा देखिएको हावा बच्चा विशेष गरी १० वर्ष सम्मका बालबालिकाका लागि अत्यन्तै जोखिम पूर्ण रहेको प्राथमिक विद्यालय बन्द गरिएको छ भने सञ्चालनमा रहेका विद्यालयमा अनिवार्य मास्क लगाउन निर्देशन जारी गरिएको छ । त्यस्तै सरकारी निकायले आवश्यक कामबाहेक बाहिर ननिस्कन आफ्ना जनतालाई सचेत गराएको छ ।

ठूलो संख्यामा प्रदूषित उद्योग र पराल जलाउनु नै हावाको गुणस्तर खराब हुनुको मुख्य कारण रहेको वरिष्ठ वातावरण अधिकारी राजा जहाँगिर अनवरलाई उदृत गर्दै बीबीसीले लेखेको छ । वातावरण अधिकारी जहाँगिर लाहोर भारतीय सीमा नजिक रहेको कारण त्यहाँ जलाइएको परालको घुँवा लाहोर तर्फ आइरहेको समेत आरोप लगाउनुभएको छ ।

लाहोर दोस्रो पटक यस सूचीमा पहिलो स्थानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एक्यूआई अनुसार तीन सयको अंकलाई खतरनाक मानिएपनि लाहोरको एक्यूआइ एक हजार भन्दा माथि जानु अत्यन्तै गभ्भीर बताइएको छ । एक्यूआईको तथ्यांक अनुसार आज पनि लाहोरको हावाको गुस्तर अतयन्तै खराब दखिएको छ भने दोस्रो स्थानमा भारतको नयाँ दिल्ली छ । काठमाडौँ भने १७ स्थानमा रहेको एक्यूआई इन्डेक्सले देखाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement