अमेरिकामा राष्ट्रपतीय निर्वाचन अभियान अन्तिम चरणमा, जनतासमक्ष दुवै उम्मेद्वारको भावनात्मक अपील

कार्तिक १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा राष्ट्रपतीय निर्वाचन अभियान अन्तिम चरणमा, जनतासमक्ष दुवै उम्मेद्वारको भावनात्मक अपील

काठमाडौं । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावको अभियान अन्तिम चरणमा पुगेको छ । रिपब्लिकन पार्टीका उम्मेदवार डनल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले स्वीङ स्टेटहरुमा आफ्नो अन्तिम चुनावी अभियानलाई तिव्रता दिइरहेका छन् । दुवै उम्मेदवारले आफूलाई ह्वाइट हाउस पठाउन भावनात्मक अपील गरिरहेका छन् ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले नर्थ क्यारोलिनामा चुनावी र्यालीलाई सम्बोधनको क्रममा डेमोक्रेटिकतर्फ संकेत गर्दै अमेरिका अहिले कब्जा गरिएको देश रहेको आरोप लगाउनुभएको छ । तर, आफू ह्वाइट हाउस पुगे छिट्टै यस्तो कब्जाबाट मुलुकलाई मुक्त गर्ने आश्वासन ट्रम्पको थियो । ट्रम्पले नोभेम्बर ५ को चुनाव अमेरिकाको ‘मुक्ति दिवस’ हुने भन्दै आफ्ना समर्थकहरु समक्ष मत दिन आह्वान गर्नुभएको छ ।

ट्रम्पले सम्बोधनको क्रममा आफ्ना समर्थकलाई जतिसक्दो चाँडो मतदान गर्न अपिल समेत गर्नुभएको छ । यता, डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले आफू ह्वाइट हाउसमा पहिलो दिनबाटै गर्ने कामको कार्यतालिका तयार भइसकेको समर्थनकलाई बताउनुभएको छ ।

ह्यारिसले नर्थ क्यारोलिनामा भीडलाई सम्बोधन गर्दै आफ्नो विचारसँग असहमत रहेका मानिसलाई प्रतिद्वन्द्वी ट्रम्पले जस्तै दुश्मन नमान्ने विषयमा आफू स्पष्ट रहेको बताउनुभयो । ट्रम्पले आफ्नो विचारमा असहमति जनाउनेलाई जेलमा हाल्न चाहेको समेत उहाँले आरोप लगाउनुभयो ।

७ वटा स्वीङ स्टेटको करिब ५३८ इलेक्टोरल कलेज मध्ये नर्थ क्यारोलिनामा एक्लै १६ इलेक्टोरल कलेजमा मत छ । त्यसका कारण उक्त राज्य उम्मेदवारका लागि अत्याधिक महत्वपूर्ण छ । ५३८ इलेक्टोरल कलेज जितका लागि २७० मत आवश्यक पर्दछ ।

यसैबीच, चुनाव अगावै करिब ७ करोड अमेरिकी मतदाताले डाँक र व्यक्तिगत उपस्थितबाट आफ्नो मताधिकार प्रयोग गरिसकेको रोयटर्सले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement