चीनले ताइवान नजिकको जल र हवाई क्षेत्रमा सैन्य गतिविधि बढाएको ताइपेइको आरोप

कार्तिक १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
चीनले ताइवान नजिकको जल र हवाई क्षेत्रमा सैन्य गतिविधि बढाएको ताइपेइको आरोप

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा चीनले ताइवान नजिकको जल र हवाई क्षेत्रमा सैन्य गतिविधि बढाएको ताइपेइले जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले आज बमवर्षक र लडाकु विमानसहितका ३५ वटा चिनियाँ सैन्य विमान प्रशान्त महासागरमा अभ्यासका लागि ताइवानी टापुको दक्षिणतर्फबाट उडेको जनाएको छ ।

जे सिक्सटिन लडाकु विमान, परमाणु क्षमताका एच सिक्स बमवर्षक र ड्रोनहरु आज विहान नौ बजेदेखि देशको दक्षिणपश्चिम, दक्षिण र दक्षिण पूर्व हुँदै प्रशान्त महासागरतर्फ लागको ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । ताइवान नजिकै चीनले सैन्य गतिविधि गरेको यो दोस्रो दिन हो । चिनियाँ सेनाका युद्धपोत र लडाकु विमानले ताइवान नजिकैको जलक्षेत्रमा युद्ध तयारीसम्बन्धी संयुक्त गस्ती गरेको थियो । गत महिना मात्रै चीनले ताइवानी टापु वरिपरी ठूलो मात्रामा युद्ध अभ्यास गरेको थियो भने त्यसलाई पृथकतावादी गतिविधिविरुद्धको चेतावनी भनेको थियो ।

चीनले लोकतान्त्रिक पद्धतिबाट शासित ताइवानलाई आफूबाट छुटि्टएको प्रान्तका रुपमा हेर्ने गर्दछ भने आफूमा पुनर्एकीकरणका लागि सैन्य शक्तिको प्रयोग गर्न सक्ने सम्भावनालाई नकारेको छैन । ताइवानमाथिको आफनो सार्वभौमिकताको दाबीका लागि समय समयमा चीनले ताइवानी आकाश र जलक्षेत्र वरिपरी सैन्य गतिविधि गरिरहन्छ ।

एक साताअघि मात्रै अमेरिकाले ताइवानलाई जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलगायत २ अर्ब डलरको हतियार बिक्री गर्न सहमति जनाएको थियो । अमेरिकाको उक्त निर्णयप्रति चीनले कडा शब्दमा आपत्ति जनाएको थियो । अमेरिकाले एक चीन नीति अपनाउँदै आए पनि ताइवानसँगको सम्बन्ध सम्बन्धी कानून अन्तर्गत उसले ताइपेइलाई हतियार बिक्री गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement