बंगलादेशका अपदस्थ प्रधानमन्त्री हसिनाको समर्थनमा रहेको पार्टीको मुख्यालयमा तोडफोड

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशका अपदस्थ प्रधानमन्त्री हसिनाको समर्थनमा रहेको पार्टीको मुख्यालयमा तोडफोड

काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको समर्थनमा रहेको बंगलादेशी जातीय पार्टीको मुख्यालयमा तोडफोडसहित आगजनी भएको छ ।

राजधानी ढाकास्थित बिजोय नगरमा रहेको जातीय पार्टीको मुख्यालयमा अज्ञात समूहले तोडफोडसहित आगजनी गरेको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात समूह र पार्टी कार्यालयमा उपस्थित नेता तथा कार्यकर्ताबीच सुरुमा भडप भएको र त्यसपछि उक्त समूहले पार्टी कार्यालयमा तोडफोड गरी आगजनी गरेको बताइएको छ ।

उक्त आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन भने आक्रमणमा कति क्षति तथा हताहती भयो भनेर सार्वजनिक भइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त पार्टी सन् १९८६ मा पूर्व सैन्य तानाशाह हुसैन मोहम्मद इर्सादले स्थापना गर्नुभएको थियो भने उक्त पार्टी बंगलादेशको तेस्रो ठूलो पार्टी मानिन्छ ।

तोडफोड र अगाजनी भइरँहदा शेख हसिनालाई अपदस्थ गराउन निर्णायक भूमिका खेलेका विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता हसनत अबदुल्लाहले हसिनाको समर्थन गरेको जातीय पार्टीलाई पूर्ण रुपमा ध्वस्त पार्नुपर्ने भन्दै प्रतिक्रिया दिनुभएको थियो ।

यसैबीच बंगलादेशमा आज एक्कासी गार्मेन्ट तथा उद्योग बन्द गराएर काम र तलबसमेत रोक्का गरेको भन्दै कामदारहरुले ढाकाको मिरपुर क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन् । प्रहरी र सेनाले प्रदर्शनकारीहरुलाई रोक्न खोज्दा झडपसमेत भएको छ भने भिडलाई तितरवितर गर्न प्रहरीले अश्रुग्यास र केही गोलीसमेत प्रहार गरेको रोयटर्सले जनाएको छ । आक्रोशित प्रदर्शनकारीहरुले प्रहरी र सेनाको सवारी साधनमा समेत आगजनी गरेका थिए । 

त्यस्तै १९ जनाविरुद्ध देशद्रोहको आरोप लागेपछि देशमा अल्पसंख्यकहरूलाई राम्रो व्यवहारको माग गर्दै ढाकामा प्रदर्शनकारीहरूले मसाल जुलुस निकालेका छन् । दक्षिणपूर्वी सहर चटगाउँमा बंगलादेशको राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै १९ जनाविरुद्ध देशद्रोहको आरोप लगाइएको थियो । उक्त आरोप फिर्ता लिन आह्वान गर्दै बंगलादेश संयुक्त अल्पसंख्यक गठबन्धनले मसाल जुलुस निकालेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.