काठमाडौं । तिहारका बेला देउसीभैलो र भाइटीकाको माहोलमा जुवा खेल्नेहरु पनि सक्रिय हुन्छन् । घरमा पारिवारिक रुपमा रमाइलोका लागि तास–कौडा सामान्य हुन सक्छ । तर लाखौंको हारजित हुने गरी जुवाका खाल सञ्चालन हुने गरेका छन् । कानुनले निषेध गरेको जुवा खेलेको आरोपमै हरेक वर्ष १५ हजारभन्दा बढी पक्राउ पर्ने गरेको तथ्यांक छ ।
तिहारमा देउसी भैलोको रमाइलो त छँदै छ । जुवा खेल्नेहरु पनि उत्तिकै सक्रिय रहन्छन् । घरमा मनोरञ्जनबाहेक पेसेवर रुपमा जुवा खेल्नेहरु प्रहरीको खोजीमा पर्ने गरेका छन् । त्यसो भए नेपालमा हरेक वर्ष कति व्यक्ति जुवा खालमा पक्राउ पर्छन् त ?
नेपाल प्रहरीको तथ्यांक अनुसार हरेक वर्ष जुवा खेलेकै आरोपमा २२ सय देखि ३५ सयसम्म व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् । नेपालमा राणाकालमा पनि यमपञ्चकको पाँच दिन जुवा फुकुवा गरेको इतिहास छ । तर कानुनले निषेध गरेपछि सूचनाका आधारमा प्रहरीले पारिवारिक रुपमा मनोरञ्जन गर्नेलाई पनि पक्राउ गर्ने गरेको छ । पाँच वर्षको अवधिमा जुवा खेलेको आरोपमा १५ हजार ३ सय ७४ जना पक्राउ परेका छन् ।
गत एक वर्षमा जुवाको खालबाट २८ सय ५३ जना पक्राउ परेका थिए । २०७६/७७ मा सबैभन्दा धेरै ३५ सय ८४ जना पक्राउ परे । नेपालमा एउटै जुवाको खालबाट २०७६ को तिहारमा ३ करोड रुपैयाँ बरामद भएको थियो । जुवामा अहिलेसम्म कति रकम बरामद भयो एकीकृत तथ्यांक छैन । तर अहिले ट्रकभित्र तथा जंगलमा समेत जुवा खेल्ने गरेको प्रहरीको अनुसन्धान अनुभव छ ।
जुवासम्बन्धी ऐन २०७५ सालमा फेरिएको छ । त्यसअघि जति रकम बरामद भए पनि २ सय रुपैयाँ मात्रै जरिवाना थियो । अहिले पहिलो पटक जुवाको आरोपमा पक्राउ परेकाहरुलाई ३ महिना कैद र ३० हजार जरिवाना छ भने दोस्रो पटक पनि पक्राउ परे तीन महिना थप हुने छ ।
१ वर्ष सम्म कैद सजाय हुने जुवाको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्न सक्ने कानुनी व्यवस्था छ । पछिल्लो पाँच वर्षमा जुवासम्बन्धी २१ सय २३ मुद्दा चलेका छन् । काठमाडौंमा यस वर्ष एकै खालमा २३ लाखसम्म बरामद भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य बताउनुहुन्छ ।
तिहारको जमघटका बेला विशुद्ध पारिवारिक मनोरञ्जनको उद्देश्यले जुवातास खेल्नु अलग कुरा हुन सक्छ । तर पेसेवर रुपमा लाखौं रकम लिएर घरबासै सकिने गरी जुवा खेल्नेहरु आफैँ सचेत हुन जरुरी छ भने प्रहरीले नियन्त्रण पनि गर्न सक्नु पर्छ । जुवामा हुने हारजितले अन्य अपराध पनि निम्त्याउन सक्छ ।