काठमाडौं । तिहार सुरू भएसँगै देउसी–भैलो खेल्न सुरू भएको छ । यतिखेर गाउँघरदेखि लिएर सहरका चोकचोकमा समूह समूहमा देउसी–भैलो खेलिरहेको देखिन्छ ।
खासगरी, बालबालिकादेखि युवाहरुसम्म समूहमा मिलेर घर-घरमा गई देउसी भैलो खेल्ने गर्छन् । दानवराज बलीले वामन अवताररुपी विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामा सम्पूर्ण भू-भाग ढाकिएकाले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए ।
तिहारको बेला लोकलयमा गीत गाउँदै देउसी भैलो खेलेर दान–दक्षिणा माग्ने परम्परालाई सबै उमेर समूहका मानिसले निरन्तरता दिएका छन् । अहिले के सहर के गाउँ सबैतिर देउसी भैलो खेल्नेहरुको चहलपहल छ । देउसी खेल्दा एकजनाले भट्याउँछ भने अरू साथीले एकै स्वरमा देउसिरे भन्छन् । सँगै मादल, पिजुरा, झ्याली लगायत बजाइन्छ ।
देउसिरे भन्ने शब्द ‘देवदासी रे’ भन्नेबाट आएको हो । राजाले माग्न पठाइसकेपछि देवदासी घर–घरमा गएर माग्दै देवदासी रे भन्ने गर्थे । विस्तारै देवादासी रे भन्ने चलनलाई देउसिरे भन्दै खेलिन थालियो ।
यसैबीच देउसीभैलोको मौलिकता हराउँदै गएका भन्दै झापाका विभिन्न संघ संस्थाहरु परम्परागत देउसीभैलोलाई पुनर्जीवन दिने अभियान थालेका छन् । लक्ष्मीपूजाको दिनदेखि नै सुरु हुने देउसीभैलो यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको दिनसम्मै चल्ने गर्छ ।