उत्तर कोरियाले सैनिक रुस पठाएको विषयमा पश्चिमा मुलुक मौन रहेको भन्दै युक्रेनी राष्ट्रपति असन्तुष्ट

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तर कोरियाले सैनिक रुस पठाएको विषयमा पश्चिमा मुलुक मौन रहेको भन्दै युक्रेनी राष्ट्रपति असन्तुष्ट

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले आफ्ना सैनिक रुस पठाएको विषयमा अमेरिकालगायतका पश्चिमा मुलुकहरुले कुनै ठोस कदम नउठाएको भन्दै आलोचना गर्नु भएको छ ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको विषयमा पश्चिमा राष्ट्र मौन रहेका कारण रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई थप बल प्राप्त हुने भन्दै जेलेन्स्कीले आक्रोश व्यक्त गर्नु भएको हो । रुसी सैन्य प्लान्टमा काम गर्न उत्तर कोरियाले थप इन्जिनियर र कामदार पठाउने विषयमा रुस पनि सकारात्मक रहेको जेलेन्स्कीले दाबी गर्नुभएको छ ।

जेलेन्स्कीले सार्वजनिक रुपमै उत्तर कोरियाली सेना युक्रेनविरुद्ध लड्न रुस पुगेको बताइरहनुभएको छ । अमेरिकालगायत पश्चिमा राष्ट्रले उत्तर कोरियाको कदमले युद्ध थप भड्किन सक्ने भन्दै चेतावनी दिए पनि रुस र उत्तर कोरियाविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा कुनै प्रतिबन्ध नलगाएको भन्दै जेलेन्स्की रुष्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

यस विषयमा निगरानी गर्न र युक्रेनलाई दक्षिण कोरियाली गुप्तचर निकायले सघाउने बताइएको छ । त्यस्तै उक्त विषयमा चीनसमेत चुप रहेको विषय आफू आश्चर्यचकित भएको जेलेन्स्कीको भनाइ छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका लागि अमेरिकाका राजदूत रबर्ट वुडले सुरक्षा परिषद्मा रुसको कुर्स्क क्षेत्रमा उत्तर कोरियाका आठ हजार सैनिक उपस्थित रहेको जानकारी प्राप्त भएको बताउनुभएको छ ।

साथै चीनले रुसलाई सैन्य गतिविधिमा सहयोग गरेर युद्धलाई लम्ब्याउने प्रयास गरिरहेको समेत उहाँले आरोप लगाउनुभएको छ । यसको जवाफमा राष्ट्रसंघका लागि चिनियाँ राजदूत गेंग सुआङले चीनले कुनै मुलुकलाई युद्ध भड्काउन हतियार तथा उपकरण उपलब्ध नगराएको स्पष्ट पार्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.