तिहारमा सेलरोटी बनाउन र बेच्न व्यवसायीलाई भ्याइ नभ्याइ

कार्तिक १६, २०८१ |अञ्जना लामिछाने
तिहारमा सेलरोटी बनाउन र बेच्न व्यवसायीलाई भ्याइ नभ्याइ

काठमाडौं । सेल रोटीबिना के तिहार ? अर्थात् तिहार र सेलरोटी एक अर्काका पर्याय जस्तै बनेका छन् । तिहारको रमझम सुरु भएसँगै यतिबेला सहरबजारमा व्यवसायीहरुलाई सेलरोटी बनाउन र बेच्न भ्याइनभ्याइ छ । विशेषगरी काठमाडौंलगायत सहरी क्षेत्रहरुमा सेलरोटीको व्यापार मनग्य हुने गरेको छ ।

यतिबेला तिहारको रमझम सुरु भइसकेको छ । मानिसहरु घरघरमा आफ्ना परिवारका साथ मिठा-मिठा परिकार खाँदै र देउसी भैलो खेल्दै रमाइरहेका छन् । तर रामेछापका बलबहादुर योञ्जनलाई भने यतिबेला सेलरोटी बनाउन र बेच्न भ्याइनभ्याइ छ ।

बलबहादुरलाई चाडबाडका बेला सधैँ चटारो हुन्छ सेलरोटी बनाउन । अहिले त झन् तिहार रोटीकै पर्व मानिन्छ । अरुबेलामा पनि ५ सय वटा सेल बेच्ने उनी अहिले भने दैनिक कति बिक्री भइरहेको छ हिसाब नै राख्न नसक्ने बताउछन् । राति ३ बजेबाट नै उनको पसलमा रोटी किन्न मान्छेहरुको भिड लाग्ने गर्छ । प्रतिगोटा ५० का दरले सेल बेच्छन् उनी ।

रोजगारीका लागि दुबई, मलेसियालगायतका देशमा भौतारिएका बलबहादुरले ११ वर्षअघि सेल व्यापार सुरु गरेका हुन् । विदेश जान खोज्ने युवाहरुलाई यस्तै व्यवसाय गर्नसमेत उनको सुझाव छ । 

सुजन बस्नेतको परिवारले चावहिल गणेश मन्दिर नजिकै सेलरोटीको व्यवसाय गरेको ३२ वर्ष भयो । आफ्नो बुवाले सुरु गरेको व्यवसाय अहिले उनले सम्हालेका छन् । तिहारका बेला उनलाई पनि माग पुर्‍याउन भ्याइ नभ्याइ हुन्छ ।

बौद्ध चावहिलमा मात्रै होइन अन्य ठाउँहरुमा पनि सेल व्यवसायीहरुलाई भ्याइ नभ्याइ छ अहिले । सेल बनाउन नजान्नेहरुलाई सहज पनि भएको छ । विगतमा घर परिवारमा मात्र सीमित सेलरोटी बनाउने कलाले विस्तारै व्यवसायिक रुप लिँदा आर्थिक उपार्जनमा पनि सघाउ पुर्‍याएको छ । 


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement