पूर्वी स्पेनमा आएको विनाशकारी बाढीमा परि मृत्यु हुनेको संख्या एक सय ५८ पुग्यो

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वी स्पेनमा आएको विनाशकारी बाढीमा परि मृत्यु हुनेको संख्या एक सय ५८ पुग्यो

काठमाडौं । पूर्वी स्पेनमा मंगलवार राती आएको विनाशकारी बाढीमा परि मृत्यु हुनेको संख्या एक सय ५८ पुगेको छ ।

उद्धारकर्ताहरुको टोलीले अझै वेपत्ता मानिसहरुको खोजी कार्य जारी राखेकाले मृतकको संख्या बढन सक्ने रोयटर्सले जनाएको छ । अझै दर्जनौं मानिसको पत्तो नलागेको एक जना मन्त्रीले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

पूर्वी भलेन्सिया प्रान्त बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । भलेन्सियामा मात्रै एक सय ५५को मृत्यु भएको छ । भलेन्सियाको केही क्षेत्रमा वर्ष दिनमा पर्ने जति पानी ८ घण्टाको अविधमै परेको जनाइएको छ । विपक्षि नेताहरुले स्थानीय वासिन्दालाई समयमै चेतावनीका सूचना दिन र उद्धारकर्ताको टोली पठाउनमा ढिलाई गरेको भन्दै मड्रिडस्थित केन्द्रिय सरकारको आलोचना गरेका छन् ।

देशको पूर्वी र दक्षिणी क्षेत्रमा थप वर्षा हुन सक्ने चेतावनी जारी गरिएकोछ भने स्पेनी राजा किङ्ग फिलिपे छैटौंले आपतकालिन अवस्थाको अझै अन्त्य नभएको सन्देश दिनु भएको छ । यस्तै प्रधानमन्त्री सान्चेजले सुरक्षित स्थानमा आश्रय लिन नागरिकलाई सचेत गराउनु भएको छ ।

भलेन्सियालाई देशका अन्य भूभागसंग जोडने थुप्रै सडक र रेल्वे संजाल अहिले पनि अवरुद्ध रहेको छ । देशमा विहिवारदेखि तीन दिनकालागि राष्ट्रिय शोक मनाइँदैछ । सरकारी भवनहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएकोछ भने एक मिनेटको मौन धारण गरिएको छ ।

यसपटकको बाढीको प्रकोप स्पेनको आधुनिक इतिहासकै सबैभन्दा दुखान्त भएको जनाइएको छ । मौसमविज्ञहरुले मानवजन्य जलवायू परिवर्तनका कारण यस्ता चरम मौसमी घटनाहरुको अधिकता र विनाशकता बढेको बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.