स्पेनको भलेन्सिया प्रान्तमा वर्षापछि आएको बाढीले कम्तीमा ६२ जनाको मृत्यु

एक वर्षमा पर्ने पानी ८ घण्टामै
कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनको भलेन्सिया प्रान्तमा वर्षापछि आएको बाढीले कम्तीमा ६२ जनाको मृत्यु

काठमाडौं । पूर्वी स्पेनको भलेन्सिया प्रान्तमा मुसलधारे वर्षाका कारण आएको बाढीमा परी कम्तिमा ६२ जनाको मृत्यु भएको छ ।

प्रान्तीय राजधानी भलेन्सिया नजिकैको चिभा सहरमा आठ घण्टाको अवधिमै एक वर्षमा पर्ने जति पानी परेको जनाइएको छ । बाढीका कारण भलेन्सिया, चिभा, यूटिएल, अल्जिरा लगायतका सहरका घर डुबानमा परेका छन् भने सडकहरु जलमग्न छन् । बाढीले पुलहरु भत्काउनुका साथै थुप्रै मोटरहरु बगाएको छ । एक लाखभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

मंगलबार रातभरी जसो सामाजिक संजालमा साझा गरिएका दर्जनौ भिडियोहरुमा मानिसहरु पानीमा फसेको र केही मानिस बग्नबाट जोगिन रुखहरुमा चढेको देख्न सकिने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् । भलेन्सियाका क्षेत्रीय नेता कार्लोस मेजनका अनुसार अझै पनि केही मानिसहरु अगम्य स्थानमा अल्झिएको जनाएका छन् । आपतकालीन सेवाले सो क्षेत्रका मानिसलाई घरमै बस्न र कुनै पनि प्रकारको सडक यात्रा नगर्न तथा थप सुचनाको प्रतिक्षा गर्न चेतावनी जारी गरेको छ ।

बाढीका कारण मड्रिड र बार्सिलोना सहर जाने रेल सेवा रद्द गरिएका छन् भने अति प्रभावित क्षेत्रमा विद्यालय तथा अन्य अत्यावश्यक सेवाहरु निलम्बित गरिएका छन् । तीन वर्षअघि १८५ जनाको ज्यान लिने गरी जर्मनीमा आएको बाढीपछि युरोपमा आएको यो सबैभन्दा घातक बाढी भएको बताइएको छ ।

स्पेनका लागि भने यो २८ वर्ष यताकै सबैभन्दा विनाशकारी बाढी भएको जनाइएको छ । सन् १९९६ मा पाइरेनीज पर्वतक्षेत्र नजिकैको सहरमा आएको बाढीमा ८७ जनाले ज्यान गुमाएका थिए ।

वैज्ञानिकहरुले जलवायू परिवर्तनका कारण युरोपमा चरम मौसमी घटनाहरु छिटो-छिटो देखिन थालेको जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement