स्पेनमा भारी वर्षापछिको बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनमा भारी वर्षापछिको बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो

काठमाडौं । दक्षिणपूर्वी स्पेनमा भारी वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ९५ पुगेकोछ ।

बाढीमा परेर धेरै मानिस बेपत्ता रहेकाले मृतक अझ बढ्न सक्ने जनाइएकोछ । कति मानिस बेपत्ता छन् भन्ने यकिन हुन नसकेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नुभएकोछ । बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्य जारी रहेको जनाइएको छ। 

बाढीबाट सबैभन्दा प्रभावित पूर्वी भलेन्सिया प्रान्तमा मात्रै ९२ जनाको मृत्यु भएको छ । त्यस्तै, कास्टिला ला मन्चा क्षेत्रमा दुई र एन्डुलुसिया क्षेत्रमा एक जनाको मृत्यु भएको छ । 

मंगलबार परेको भारी वर्षापछि राति आएको बाढीका कारण यति ठूलो क्षति भएको जनाइएको छ । स्पेनमा सन् १९७३ यता आएको यो सबैभन्दा विनाशकारी बाढी हो । त्यतिबेला कम्तिमा १ सय ५० जनाले ज्यान गुमाएका थिए । 

प्रान्तीय राजधानी भलेन्सिया नजिकैको चिभा सहरमा आठ घण्टाको अवधिमै एक वर्षमा पर्ने जति पानी परेको जनाइएको छ । बाढीका कारण भलेन्सिया, चिभा र यूटिएल, अल्जिरा लगायतका सहरमा घरहरु डुबानमा परेका छन् भने सडकहरु जलमग्न छन् । 

बाढीले पुलहरु भत्काउनुका साथै थुप्रै मोटरहरु बगाएको छ । एक लाखभन्दा बढी घरहरुमा विद्युत आपूर्ति अवरुद्ध छ । वैज्ञानिकहरुले जलवायू परिवर्तनका कारण यूरोपमा चरम मौसमी घटनाहरु छिटो-छिटो देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.