उत्तर कोरियाले प्रक्षेपण गर्‍यो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तर कोरियाले प्रक्षेपण गर्‍यो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र

काठमाडौं । उत्तर कोरियाले आफ्नो समुद्रको पूर्वी तटीय क्षेत्रतर्फ शंकाष्पद अन्तरमहादेशीय बलिष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।

प्योङयाङ र सोलबीचको तनाव बढिरहेका बेला उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । स्थानीय समय अनुसार विहीबार बिहान करिब ७ बजेर १० मिनेट जाँदा उक्त क्षेप्यास्त्र प्रहार गरिएको हो । 

अन्तरमहादेशीय बलिष्टिक क्षेप्यास्त्र आईसीबीएमले साढे ५ हजार किलोमिटरभन्दा लामो दूरीमा मार हान्न सक्ने जनाइएको छ । यसअघि दक्षिण कोरियाले उत्तरले अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुने मिति नोभेम्बर ५ तिर अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गर्ने तयारी गरिरहेको दाबी गरेको थियो । 

संयुक्त राष्ट्रसंघले लामो समयदेखि लगाइरहेको प्रतिबन्धलाई बेवास्ता गर्दै उत्तर कोरियाले अन्तिम पटक गत वर्षको डिसेम्बरतिर अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । 

दक्षिण कोरिया र अमेरिकाले प्योङयाङले युक्रेनविरुद्धको युद्धमा सघाउन रुसमा आफ्ना करिब १० हजार सेना पठाएको आरोप लगाइरहँदा उत्तरले विहीबार क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । 

रुसमा उत्तर कोरियली सेनाको उपस्थिति राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनबीच मजबुत सम्बन्धको द्योतक भएको र यसले पश्चिमा देशको चिन्तालाई थप बढाइदिएको विश्लेषण गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement