काठमाडौं । लेबनानका कार्यबाहक प्रधानमन्त्री नजिब मिकाटीले इजरायलसँग केही दिनभित्रमै युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गर्नुभएकोछ ।
बुधबार इजरायली सरकारी सञ्चार माध्यमले ६० दिने युद्धविराम सम्झौताको प्रस्तावित मस्यौदा सार्वजनिक गरेकै दिन लेबनानी प्रधानमन्त्रीले यस्तो आशा जनाउनु भएको हो ।
सञ्चार माध्यममा आएको उक्त मस्यौदा प्रस्ताव वासिङ्गटनले तयार गरेको र उक्त प्रस्तावमा ६० दिने युद्धविरामको पहिलो हप्ताभित्रै इजरायली सेना लेबनानबाट फर्किने उल्लेख गरिएको छ ।
युद्धविराम सम्झौताका लागि पहल गर्न मध्यपूर्वका लागि अमेरिकी विशेष दूत एमोस होस्टिन विहीबार इजरायल पुग्दै हुनुहुन्छ । हिजबुल्लाहले भने सञ्चार माध्यममार्फत बाहिरिएको युद्धविराम प्रस्तावबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच गाजा युद्ध शुरु भएदेखि नै समानान्तर द्वन्द्व चलिरहेको छ । इजरायलले दक्षिणी लेबनानमा स्थल सैनिक परिचालन गरेको पछिल्लो पाँच सातामा द्वन्द्व निकै चर्केर गएको छ ।
उता, हिजबुल्लाहका नयाँ प्रमुख नइम कासेमले इजरायलले युद्ध रोक्न चाहेको भए केही निश्चित मापदण्डभित्र रहेर युद्ध विराम सम्झौता गर्न आफूहरु तयार हुने बताउनु भएकोछ । लामो समयदेखि हिजबुल्लाहको नेतृत्व सम्हाल्दै आएका हसन नसरल्लाह इजरायली सेनाको आक्रमणमा मारिएपछि मंगलबार मात्रै कासेम उक्त पदमा निर्वाचित हुनु भएको हो ।
उता, इजरायलले लेबनानमाथिको आक्रमणलाई बुधवार पनि निरन्तरता दिएको छ । इजरायलले रोमन मन्दिरहरुका लागि प्रसिद्ध पूर्वी लेबनानको ऐतिहासिक सहर बालबेक र यसको निकटवर्ती गाउँहरुमा बुधवार भीषण हवाई आक्रमण गरेको जनाइएको छ । इजरायलले गत वर्षको अक्टोबर २३ देखि लेबनानमा चलाइरहेको कारबाहीमा २ हजार ८ सय २२ जना मारिएको र १२ लाखभन्दा बढी मानिस विस्थापित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।