विश्व नम्बर दुई कार्लोस आल्कारज पेरिस मास्टर्स टेनिसबाट बाहिरिए

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्व नम्बर दुई कार्लोस आल्कारज पेरिस मास्टर्स टेनिसबाट बाहिरिए

काठमाडौं । विश्व नम्बर दुई कार्लोस आल्कारज, पेरिस मास्टर्स टेनिसको राउन्ड अफ सिक्सटिन बाटै बाहिरिएका छन् ।

गएराती भएको खेलमा घरेलु खेलाडी उगो हम्बर्टले, स्पेनिस अल्काराजलाई तीन सेटमा स्तब्ध पारेका हुन् ।प्रतिस्पर्धात्मक र रोमान्चक खेलमा समर्थकको साथ पाएका हम्बर्टले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै ५-० अंकको अग्रता लिएका थिए । उनले केवल २६ मिनेटमा ६-१ ले पहिलो सेटमा जित हात पारे । चार पटकका ग्रान्डस्लाम च्याम्पियन अल्काराजले पनि सहजै हार भने मानेनन् ।

दोस्रो सेटमा पुनरागमन गरेका उनले ६-३ ले हम्बर्टलाइ पराजित गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । तर तेस्रो तथा निर्णायक सेटमा उनी चुके । विश्व वरियताको १८ औं स्थानमा रहेका हम्बर्टले ७-५ ले सेट आफ्नो पक्षमा पार्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् । यो खेल दुइ घन्टा १७ मिनेट चलेको थियो ।

अब उनले अस्ट्रेलियाका जोर्डन थम्पसन सँग खेल्नेछन् । थम्पसनले एड्रिययन मन्नारिनोलाइ ७-५, ७-६ को सोझो सेटमा हराए । थम्पसन मास्टर्स थाउजेन्डमा पहिलो पटक अन्तिम आठमा प्रवेश गरेका हुन् ।

अस्ट्रेलियाकै एलेक्स डि मिनोले बेलायतका ज्याक ड्रापरको सात खेल यताको अपराजित यात्रामा पूर्णविराम लगाए ।उनले अन्तिम १६ को प्रतिस्पर्धामा ५-७, ६-२, ६-३ को जित हात पारेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.