आफ्नो देशमा रहेका शिख पृथकतावादीलक्षित आक्रमणमा भारतीय गृहमन्त्री साहको भूमिका : क्यानडा

कार्तिक १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफ्नो देशमा रहेका शिख पृथकतावादीलक्षित आक्रमणमा भारतीय गृहमन्त्री साहको भूमिका : क्यानडा

काठमाडौं । क्यानडाले आफ्नो देशमा रहेका शिख पृथकतावादीलाई लक्षित गर्दै भएका आक्रमणको पछाडि भारतीय गृहमन्त्री अमित साहको भूमिका रहेको आरोप लगाएको छ । भारतीय सरकारले क्यानडाको पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन । 

प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमा दोस्रो नम्बरमा रहेको मानिएका साह विरुद्ध क्यानडेली अधिकारीहरुले यस्तो आरोप लगाएको कुरा पहिलो पटक वासिङ्गटन पोष्टले खुलासा गरेको हो । क्यानडाका उप विदेशमन्त्री डेभिड मोरिसनले मंगलवार संसदीय समितिसमक्ष बयान दिँदै शिख पृथकतावादीविरुद्ध भएका हिंसा र धम्कीका घटनाका पछाडि भारतीय गृहमन्त्री साहको हात रहेको आरोप लगाउनु भएको पोष्टले उल्लेख गरेको छ । 

विवरण वा प्रमाण प्रस्तुत नगरीकनै उपविदेशमन्त्री मोरिसनले यस्तो आरोप लगाउनु भएको जनाइएकोछ । क्यानडाको राजधानी ओटावामा रहेको भारतीय उच्चायुक्तको कार्यालय र भारतीय विदेश मन्त्रालयलले यस विषयमा तत्काल कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले उल्लेख गरेको छ । 

गृहमन्त्री शाहमाथिको उक्त भूमिका क्यानडा सरकारले गत वर्षको अक्टोबमै भारत सरकारलाई जानकारी गराएको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ । नयाँ दिल्लीले भने उक्त आरोपलाई धेरै कमजोर र अपुष्ट ठानेको र यसले शाह वा मोदी सरकारलाई कुनै असर नपार्ने विश्लेषण गरेको जनाइएको छ ।

यही अक्टोबरको मध्यमा क्यानडाले २०२३ मा भएको शिख पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको भन्दै भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मा सहित ६ जना भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । लगत्तै त्यसको प्रतिकारमा भारतले पनि नयाँ दिल्लीस्थित कार्यबाहक उच्चायुक्त स्टेवार्ट ह्विलर सहित ६ जना क्यानडेली कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको थियो ।

विदेशी भूमिमा शिख पृथकतावादी नेतामाथि भएको आक्रमणमा भारतको संलग्नता रहेको आरोप लगाउने क्यानडा एक्लो उदाहरण भने होइन । अमेरिकाको न्यूयोर्क बस्दै आएका एक जना शिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नुको असफल हत्या योजनाको निर्देशन दिएको भन्दै भारतीय पूर्वगुप्तचर अधिकारी विकास यादवमाथि अमेरिकाले अभियोग नै लगाएको छ ।

केही शिख पृथकतावादीले भारतको पञ्जाव प्रान्तलाई स्वतन्त्र खालिस्तान राज्य बनाउनु पर्ने माग राख्दै आएका छन् । भारतले उनीहरुलाई आतंककारीको संज्ञा दिनुका साथै सुरक्षा खतराका रुपमा हेर्ने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement