काठमाडौं । नेपाल प्रहरीले तिहारका बेला पटका तथा विस्फोटक पदार्थ नियन्त्रणका लागि उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटाकाजन्य पदार्थको बढी प्रयोग हुने भएकाले त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बनाइएको जानकारी दिनुभयो । प्रहरीलाई छलेर यस्ता गतिविधि गरेमा पक्राउ गर्ने र कारबाही गर्ने प्रहरीले जनाएको छ ।
पटाका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्धासमेत चलाइएको छ । विस्फोटक पदार्थसम्बन्धी कसुर आकषिर्त हुने भएकाले यस्ता गतिविधि गर्नेलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको भनाइ छ ।
यसपालि नेपाल प्रहरीले देशभर ४८ हजारभन्दा बढी सुरक्षाकर्मी तिहार सुरक्षाका लागि खटाएको छ । काठमाडौं उपत्यकामात्रै दैनिक ५ हजार सुरक्षाकर्मी तिहार सुरक्षाकै लागि परिचालन भइरहेको जनाइएको छ । काठमाडौं उपत्यका प्रहरीले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका लागि एकीकृत रुपमा चाडपर्व सुरक्षा योजना लागु गरी निगरानी बढाएको छ ।