काठमाडौंमा रोकिएन पटका आतंक, प्रहरी भन्छ- कडा निगरानी गर्दैछौं

कार्तिक १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा रोकिएन पटका आतंक, प्रहरी भन्छ- कडा निगरानी गर्दैछौं

काठमाडौं । काठमाडौं उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने रोकिएको छैन ।

काठमाडौंको मुख्य मार्गभन्दा भित्री तथा काठ क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् । बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ । लगातार पटका पड्काउँदा नागरिकमा ध्वनी प्रदूषणसमेत भएको छ,भने आगलागीको जोखिम पनि बढेको छ ।

नेपाल प्रहरीले भने पटका तथा विष्फोटक पदार्थ नियन्त्रणमा उपत्यकाका १० वटै नाकामा सुरक्षा निगरानी बढाइएको तथा विभिन्न क्षेत्रमा जाँच अभियान तीव्र भइरहेको दाबी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले तिहारमा जुवातास तथा पटकाजन्य पदार्थको प्रयोग बढी हुने भएकाले पनि त्यसलाई केन्द्रित गरेर सुरक्षा निगरानी बढाइएको बताउनुभयो । प्रहरीलाई छलेर यस्ता गतिविधि छिटफुट घटना भएमा पक्राउ गर्ने र कारबाही गर्ने गरिएको प्रहरीले जनाएको छ ।

पटका नियन्त्रण अभियानकै क्रममा त्यस्ता व्यक्तिलाई पक्राउ गरी उपत्यकामा मुद्दासमेत चलाइएको छ । विष्फोटक पदार्थसम्बन्धी कसुर आकर्षित हुने भएकाले यस्ता गतिविधि गर्नेहरुलाई सोहीअनुसार मुद्दा चलाइएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीले सार्वजनिक अपिल गर्दै भनेको छ, “पटका र पटकाजन्य पदार्थ विष्फोटक पदार्थका रुपमा रहेकाले तिहार त हो पड्काउँ न भनेर गैरकानुनी गतिविधि गर्दा कानुनी कारबाहीमा परिन्छ, पटकाजन्य पदार्थ ओसारपसार, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न सबैमा प्रतिबन्ध छ, यस्तो पाइएमा तीन महिनादेखि एक वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यस्ता गतिविधिमा कोही संलग्न नहुनु ।”

यसपाली नेपाल प्रहरीले देशभर ४८ हजारभन्दा बढी सुरक्षाकर्मी तिहार सुरक्षामा खटाएको छ । काठमाडौँ उपत्यकामा मात्रै दैनिक पाँच हजार सुरक्षाकर्मी तिहार सुरक्षाकै लागि परिचालन भइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.