कस्ता छन् अमेरिकी राष्ट्रपतीय उम्मेदवारहरूका एजेन्डा ?

कार्तिक १३, २०८१ |प्रभात सिंह
कस्ता छन् अमेरिकी राष्ट्रपतीय उम्मेदवारहरूका एजेन्डा ?

काठमाडौं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन एक साता मात्र बाँकी छ । नोभेम्बर ५ मा हुने चुनावले अहिले विश्वकै ध्यान खिचेको छ । मुख्य प्रतिस्पर्धी पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्प र उपराष्ट्रपति तथा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस चुनावी अभियानको अन्तिम चरणमा छन् । दुवै उम्मेदवारले महँगी, कर, गर्भपतन र सुशासनजस्ता विषयलाई प्राथमिकताका साथ उठाइरहेका छन् । उम्मेदवारहरुले कस्ता खालका फरक एजेन्डा उठाएर मतदातालाई प्रभावित पार्ने प्रयास गरिरहेका छन् त ?

कोभिड-१९ को महामारीपछि अमेरिकामा बढेको महँगी दर अहिलेसम्म कम भएको छैन । राष्ट्रपतिका डेमोक्र्याटिक उम्मेदवार ह्यारिसले आफू पहिलो दिनबाटै महँगी दर घटाउनेतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ । उता रिपब्लिकन उम्मेदवार ट्रम्पले पनि महँगीलाई कम गर्दै अमेरिकामा बाँच्नका लागि सहज गरिने वाचा गर्नुभएको छ ।

त्यस्तै करसम्बन्धी नीतिमा ह्यारिसले ठूलो व्यापार र चार लाख डलर कमाउने नागरिकमाथि कर बढाउने बताउनुभएको छ । तर मध्यम वर्गका परिवारका लागि करको दर कम गर्ने घोषणा उहाँले गर्नुभएको छ । यता ट्रम्प भने खर्बौ कमाउने ठूला व्यापारमा कर कम गर्ने नीतिलाई अगाडि सार्नुभएको छ ।

यस्तै यो चुनावमा गर्भपतनको मुद्धा चर्को गरी उठेको छ । यसलाई युवा पुस्ताले निकै ध्यान दिइरहेका छन् । ह्यारिसले गर्भपतनको अधिकारलाई आफ्नो अभियानको केन्द्रबिन्दु बताउनुभएको छ भने ट्रम्प विपक्षमा देखिनुभएको छ । राष्ट्रपति हुँदा ट्रम्पले गर्भपतनको संवैधानिक अधिकारलाई उल्टाउनुभएको थियो ।

अवैध रुपमा प्रवेश गर्ने आप्रवासीका विषयमा भने ह्यारिसले कडा नीति अपनाउने बताउनुभएको छ । ट्रम्पले अमेरिकासँग जोडिएको सीमालाई पूर्णरुपमा बन्द गर्ने र अवैध आप्रवासीलाई फिर्ता पठाउने घोषणा गरिरहनुभएको छ ।

अमेरिकामा विदेश नीतिलाई पनि उत्तिकै महत्वका साथै हेरिन्छ । रुस-युक्रेन युद्धका विषयमा ह्यारिसले आफू सधैं युक्रेनको पक्षमा उभिने बताइरहनुभएको छ । त्यस्तै उहाँ प्यालेस्टाइनलाई छुट्टै राज्यको मान्यता दिने पक्षमा वकालत गर्दै आउनुभएको छ । यता, ट्रम्पले भने आफू राष्ट्रपति भएको भए रुस–युक्रेन र इजरायल–गाजा युद्ध नै नहुने भन्दै आउनुभएको छ । अब आफू ह्वाइट हाउसमा फर्किए २४ घण्टाभित्र रुस–युक्रेन युद्ध समाप्त गर्ने दाबी ट्रम्पको छ ।

अमेरिकामा स्वास्थ्य अपचार अत्यधिक महँगो छ । ह्यारिसले स्वास्थ्य उपचार र औषधि कम मूल्यमा प्रदान गर्न पहल गर्ने बताउनुभएको छ । ट्रम्पले भने विद्यमान कानुन संशोधन गरी नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

अमेरिकामा सधैं चर्चामा रहने बन्दुक राख्न पाउने विषयमा दुवै उम्मेदवारका फरकफरक मत छन् । ह्यारिसले बन्दुक हिंसालाई रोक्ने प्रतिज्ञा गर्नुभएकोछ । तर ट्रम्पले हतियार राख्न पाउने संवैधानिक अधिकारको वकालत गरिरहनुभएको छ ।

दुवै उम्मेदवारले आफ्ना एजेन्डा देखाएर मतदातालाई फकाउने प्रयास जारी राखेका छन् । अब यी दुई मध्ये कसका एजेन्डालाई अमेरिकी नागरिकले विश्वास गर्ने हुन् उसैले आगामी राष्ट्रपति बन्ने शौभाग्य पाउने छन् ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।