[अपडेट] गाजा र लेबनानमा इजरायली सेनाको आक्रमणबाट १ सय ५३ जनाको मृत्यु, कयौं घाइते

हसन मारिएपछि शेख बने हिजबुल्लाहका नयाँ प्रमुख
कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
[अपडेट] गाजा र लेबनानमा इजरायली सेनाको आक्रमणबाट १ सय ५३ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं । इजरायली सेनाले आज गाजाको बेत लाहिया सहरस्थित एक आवासीय भवनमा हवाई आक्रमण गर्दा कम्तीमा ९३ प्यालेस्टाइनीको मृत्यु भएको छ । आक्रमणमा दर्जनौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ । इजरायली आक्रमणमा भत्किएको भवनको भग्नावशेषमुनि १७ जना फसेको बताइएको छ ।

आक्रमणका विषयमा इजरायली सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । गाजामा इजरायली आक्रमण तीव्ररुपमा रहेका कारण त्यहाँका जबलिया, बेत लाहिया र बेत हानौनमा एक लाख मानिस खाद्यान्न नपाउँदा अलपत्र परेका छन् ।

उत्तरी गाजामा विगत तीन सातादेखि इजरायली आक्रमण तीव्र भएपछि आपतकालीन सेवाले आफ्नो कार्य सञ्चालनसमेत रोकेको छ । त्यस्तै लेबनानको स्वास्थ्य मन्त्रालयले देशको पूर्वी बेका उपत्यकामा इजरायली आक्रमणमा दुई बालबालिकासहित ६० जनाको मृत्यु भएको जनाएको छ । १२ स्थानमा भएको आक्रमणमा ५८ जना घाइते भएका छन् । यद्यपि इजरायली सेनाले आक्रमणका विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायल र प्यालेस्टिनी समर्थक हिजबुल्लाहबीच अक्टोबर ८ देखि लेबनानको सीमामा द्वन्द्व चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार लेबनानमा इजरायली हमलामा २६ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १२ हजारभन्दा बढी घाइते भएका छन् ।

यसैबीच हिजबुल्लाहले आफ्नो समूहका उपमहासचिव शेख नइम कासिमलाई आफ्नो नयाँ प्रमुख घोषणा गरेको छ । उहाँले गत महिना बेरुतमा इजरायली हवाई हमलामा मारिएका दीर्घकालीन नेता हसन नसरल्लाहको स्थान लिनुहुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement