काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उत्तर कोरिया रुसी युद्धमा संलग्न भएको अवस्थामा युक्रेनमाथि अमेरिकी हतियारको प्रयोगमा कुनै नयाँ सीमा नलगाइने जनाएको छ । युक्रेनविरुद्धको युद्धमा सघाउन उत्तर कोरियाली सेना रुसमा परिचालित भएको खबरपछि पेन्टागनले यस्तो घोषणा गरेको हो ।
पेन्टागनले करिब १० हजार उत्तर कोरियाली सैनिक पूर्वी रूसमा तालिम गरिरहेको आकलन गरेको छ । यसअघि पेन्टागनले यो संख्या करिब ३ हजार हुनसक्ने जनाएको थियो। पेन्टागनका प्रवक्ता सब्रिना सिंहले रूसमा रहेका उत्तर कोरियाली सैनिकमध्ये केही युक्रेनी सीमा नजिकै पुगिसकेको र तिनलाई युक्रेनविरुद्धको सैन्य कारवाहीमा प्रयोग गर्न सकिने बताउनुभएकोछ । उत्तर एटलान्टिक सन्धि संगठन नेटोले पनि उत्तर कोरियाली सेनाको एउटा एकाइ युक्रेनसँग सीमा जोडिएको रूसको कुर्स्क प्रान्तमा तैनाथ भएको पुष्टि भएको जनाएको छ ।
उत्तर कोरियाली सेना परिचालनबाट चिन्तित दक्षिण कोरियाको एक डेलिगेसनले नेटोका महासचिव मार्क रुटेसँग भेटेर यस विषयमा छलफल गरेको छ ।
शुरुमा रूसले उत्तर कोरियाली सेना परिचालन भएको कुरा झुठा भन्दै खण्डन गर्दै आएपनि विहिवार राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको साझेदारी सन्धी कसरी कार्यान्वयन गर्ने भन्ने विषय मस्कोको आफ्नो स्वविवेकको कुरा भएको टिप्पणी गर्नुभएको थियो । पुटिनले अमेरिका र उसको गठबन्धनका देशले युक्रेनलाई रुसको भित्री भागमा आक्रमण गर्न सघाएमा मस्कोले त्यसको सोहीअनुरुप जवाफ दिने दृढतासमेत व्यक्त गर्नुभएको थियो ।
यसैबिच उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई रुसको औपचारिक भ्रमणका लागि सोमवार मस्कोतर्फ प्रस्थान गर्नुभएकोछ । ६ साताको अवधिमा चोएको यो दोस्रो रुस भ्रमण हो ।