काठमाडौं । इजरायली संसद्ले प्यालेष्टिनी शरणार्थीहरूका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय सहायता एजेन्सी उनर्वामाथि प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरेको छ।
विधेयकमा उनर्वालाई इजरायल र इजरायल अधीनस्थ पूर्वी जेरुसलेममा काम गर्नबाट तीन महिनाभित्र रोक लगाइने उल्लेख छ । इजरायली संसद्ले पारित गरेको अर्को विधेयकले इजरायली अधिकारी र उनर्वाका कर्मचारीबीचको सम्पर्कमा पनि प्रतिबन्ध लगाउने व्यवस्था गरेकोछ। इजरायली प्रतिबन्धले गाजा र इजरायल अधिनस्थ वेष्ट ब्यांकमा काम गर्ने उनर्वाको क्षमतालाई सीमीत गर्नेछ भने यसबाट गाजाका लाखौं प्यालेष्टिनीको मानवीय अवस्था थप संकटमा पर्नेछ ।
गाजा प्रवेश गर्ने सबै नाकामा इजरायली सेनाको नियन्त्रण छ भने युद्धग्रस्त गाजामा अत्यावश्यक सहायता सामग्री पुर्याउन उनर्वालाई इजरायली सेनाको सहयोग आवश्यक पर्नेछ । उनर्वा गाजामा कार्यरत संयुक्त राष्ट्रसंघको मुख्य निकाय हो । अहिलेसम्म उनर्वाले नै युद्ध प्रभावित प्यालेष्टिनीलाई सहायता सामग्री वितरण गर्दै आएको छ । यो प्रतिबन्धसँगै उनर्वाका कर्मचारीलाई इजरायलभित्र कुनै प्रकारको कानूनी उन्मुक्ति हुने छैन भने पूर्वी जेरुसलेमस्थित उनर्वाको मुख्यालय पनि बन्द हुनेछ ।
गत वर्षको अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमाथि गरेको आक्रमणमा उनर्वाका केही कर्मचारी पनि संलग्न रहेको आरोप इजरायलले लगाउँदै आएकोछ । सोही आधार देखाउँदै इजरायली संसद्ले उनर्वामाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको हो । संयुक्त राष्ट्रसंघले यसै अगष्टमा अक्टोबर ७ को उक्त आक्रमणमा उनर्वाका ९ जना कर्मचारी संलग्न भएको हुनसक्ने भन्दै उनीहरुलाई जागिरबाट निकालेको थियो ।
अमेरिका, बेलायत, जर्मनीलगायतका थुप्रै देशहरुले इजरायलको यस कदमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । ७४ वर्षअघि सन् १९४९ मा संयुक्त राष्ट्रसंघ महासभाले प्यालेष्टिनी शरणार्थीको सहायता र मानवीय विकासमा सहयोग गर्न भन्दै उनर्वा स्थापना गरेको थियो ।