काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ ।
आफ्नो चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले न्यूयोर्कमा ठूलो र्यालीको आयोजना गर्दै ‘अमेरिका फर्स्ट’ भन्ने आफ्नो पुरानो नारालाई दोहोर्याउनुभएको छ ।
सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उहाँले ‘अमेरिका फर्स्ट’को नारा दिनुभएको थियो । यसबाहेक ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लड्नुभएको थियो ।
आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा समेत गर्नुभएको छ । उहाँले अमेरिकी बालबालिकालाई देशको झण्डाको सम्मान गर्न सिकाउने पनि बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले जानकारी दिनुभएको बताइएको छ । उता, डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावको अभियानमा फिलाडेल्फियामा एक र्यालीलाई सम्बोधन गर्नुभएको छ ।
र्यालीमा ह्यारिसले विशेष गरी युवा र पहिलो पटक मतदातालाई प्रभाव पार्ने प्रयास गर्नुभएको बताइएको छ । यसबाहेक ह्यारिसले वर्तमान जेनेरेशन ‘जेन जी’ अमेरिकीलाई पनि लोभ्याउने प्रयास गर्नुभयो ।
‘जेन जी’ मतदातालाई सम्बोधन गर्दै उहाँले अमेरिकामा परिवर्तन ल्याउन ‘जेन जी’ उत्सुक रहेको विषयमा आफू खुशी भएको बताउनुभयो ।
ह्यारिसले आजका युवा अमेरिकी मतदाताले बारम्बार गोलीबारीका घटनाहरू र जलवायु संकट जस्ता समस्याहरू बुझेको र उनीहरू आफ्ना पुस्ता भन्दा पनि अधिकारका साथ बाँचिरहेको बताउनुभयो । ह्यारिसले उक्त मुद्दा राजनीतिक मात्र नभएर जनताको जीवनसँग जोडिएको स्पष्ट पार्नुभयो ।