सिआईए र मोसादका प्रतिनिधिबीच कतारको दोहामा वार्ता, के भयो कुराकानी ?

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिआईए र मोसादका प्रतिनिधिबीच कतारको दोहामा वार्ता, के भयो कुराकानी ?

काठमाडौं । इजरायल-गाजा युद्ध विराम र बन्धक रिहाइका लागि इजिप्ट, अमेरिका र इजरायलका प्रतिनिधिसहित अमेरिकी खुफिया विभाग सिआईए र इजरायलको खुफिया एजेन्सी-मोसादका प्रतिनिधिबीच कतारको दोहामा वार्ताको प्रारम्भ भएको छ ।

यसैबीच इजिप्टले गाजामा तत्काल दुई दिने युद्ध विश्रामसहित हमासले बन्धक बनाएका चार इजरायलीको बदलामा इजरायली नियन्त्रणमा रहेको प्योलस्टिनीलाई रिहाईका विषयमा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दोहामा एक वर्ष लामो युद्ध विरामका लागि प्रयास भइरहेको बेला इजिप्टकाको यो भनाइ आएको हो ।

सञ्चारमाध्यमसँग कुरा गर्दै इजिप्टका राष्ट्रपति अबदेल फताह अल-सीसीले गाजामा तत्काल दुई दिने युद्ध विरामको प्रस्ताव गरिएको जानकारी दिनुभएको हो । राष्ट्रपति अल सीसीले दुई दिने अस्थायी विश्रामका लागि १० दिन भित्र वार्ता हुनुपर्ने बताउनुका साथै उक्त प्रस्तावले स्थायी युद्ध विरामका लागि मार्ग प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उक्त प्रस्तावमा भने इजरायल र हमासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । तर, युद्ध विरामको वार्तालाई नजिकबाट नियालिरहेको प्यालेस्टिनी अधिकारीले हमासले नयाँ प्रस्ताव सुन्नुपर्ने जनाएका छन् । तर, हमासले भने गाजाबारे गर्ने कुनै पनि सम्झौता वा प्रस्ताव पूर्ण युद्ध विराम र इजरायली सेना गाजाबाट पूर्ण रुपमा फिर्ता नभएसम्म सहमति नहुने विषयमा प्रतिबद्ध रहेको अधिकारीको भनाई छ ।

त्यस्तै इजरायलले पनि गाजाबाट हमासलाई पूर्ण रुपमा ध्वस्त नपारेसम्म युद्धको अन्त्य नहुने अडानमा छ । दोहामा वार्ता भइरहँदा इजरायली सेनाले गाजाको उत्तरी भागमा कारबाही जारी राखेको छ । जसमा करिब ५३ जना प्यालेस्टिनीको मृत्यु भएको अलजजीराले जनाएको छ । त्यस्तै इजरायली सेनाले इरान समर्थिक समुह हिजबुल्लाह लक्षित आक्रमण समेत गरेको छ । लेबनानमा हिजबुल्लाह लक्षित आक्रमणमा कम्तिमा २१ जनाको मृत्यु भएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.