जापानमा प्रधानमन्त्री शिगेरु इसिबा नेतृत्वको सत्तारुढ दलको १५ वर्षपछि गुम्यो बहुमत

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानमा प्रधानमन्त्री शिगेरु इसिबा नेतृत्वको सत्तारुढ दलको १५ वर्षपछि गुम्यो बहुमत

काठमाडौं । जापानमा सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री शिगेरु इसिबा नेतृत्वको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी-एलडीपीले एकल बहुमत गुमाएको छ ।

४ सय ६५ सिट रहेको जापानको तल्ला सदनमा एलडीपीले १ सय ९१ सिट मात्र जित्न सफल भएको जापान टाइम्सले जनाएको छ । यसअघि एलडीपीको संसदमा २ सय ५६ सिट थियो । एलडीपीको सहायक पार्टी कोमीतोले भने २४ संसदीय सिट जित्न सफल भएको छ । ४ सय ६५ सिटको जापानी संसदमा बहुमतका लागि २ सय ३३ सिट आवश्यक छ । तर सत्तारुढ गठबन्धनले भने कुल २ सय १५ सिटमा सिमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सत्तारुढ पार्टीले १५ वर्षको अवधिमा पहिलो पटक एकल बहुमत गुमाएको हो ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल कन्स्टिच्युशनल डेमोक्र्याटिक पार्टी-सिडीपीले राम्रो संख्या जित्न सफल भएको छ । उसले विगतमा ९८ सिट जितेकोमा यसपटक भने १ सय ४८ सिट जित्न सफल भएको छ । त्यस्तै निप्पोन इसीन दलले ३८ सिटमा जित हासिल गरेको छ ।

त्यस्तै डेमोक्रयाटिक पिपुल्स फर दि पार्टी-डीपीपीले २८ सिटमा जित हासिल गरेको छ । प्रधानमन्त्री इसिबाको दलले एकल बहुमत गुमाएपनि उक्त पार्टी नै यस निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको छ । तर, उसको गठबन्धनको अंकगणित जोड्दा पनि सरकार बनाउन थप आवश्यक सिट चाहिने देखिएको छ । पार्टीले अब सरकार बनाउन र संसदमा बहुमत पुर्याउन साना दलको समर्थन आवश्यक छ । प्रधानमन्त्री इसिबाले सरकार बनाउन साना दलसँग गठबन्धन गर्ने तयारी थालेको जापान टाइम्सले जनाएको छ । यसमा किङमेकरको हैसियतमा डीपीपी हुनसक्ने आंकलन भइरहेको छ ।

प्रधानमन्त्री इशिबाले यही अक्टोबर १ मा सत्ता सम्हालेको केही दिनपछि नै संसद विघटन गर्दै समय अगावै निर्वाचनको आह्वान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.