जापानमा संसदीय निर्वाचनका लागि आज मतदान

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
जापानमा संसदीय निर्वाचनका लागि आज मतदान

काठमाडौं । जापानमा आज संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ ।

समय अगावै भइरहेको यो संसदीय निर्वाचनलाई देशका नयाँ प्रधानमन्त्री शिगेरु इसिबाको परीक्षाका रुपमा हेरिएको छ । अक्टोबर १ मा देशको प्रधानमन्त्री पद सम्हालेको केही दिनमै इसिबाले संसद विघटन गर्नुका साथै समयअगावै निर्वाचन आह्वान गर्नु भएको हो ।

सत्तारुढ डेमोक्र्याटिक लिबरल पार्टी-एलडीपीको नेता छनोट भएपछि निवर्तमान प्रधानमन्त्री फुमियो किसिदालाई विस्थापित गर्दै इसिबाले प्रधानमन्त्री पद सम्हाल्नु भएको हो । सत्तारुढ एलडीपी विवादमा मुछिएको र जनसमर्थन घट्दै गएका बेला भइरहेको यो निर्वाचनमा सत्तारुढ दलले एक दशक यताकै कठोर चुनौतीको सामना गर्नुपर्ने देखिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले टिप्पणी गरेका छन् ।

विपक्षी 'कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टी अफ जापान' (सीडीपीजे) ले उल्लेख्य सफलता प्राप्त गरे पनि सरकार परिवर्तनका लागि पर्याप्त सिट भने नजित्ने विश्लेषण गरिएको छ । 

सत्तारुढ एलडीपीले केही दर्जन सिट गुमाउन सक्ने तर खराब प्रदर्शन गरेको अवस्थामा पनि पहिलो पार्टी नै बन्ने विश्लेषण गरिएको छ । ४ सय ६५ सदस्यीय तल्लो सदनमा एलडीपीसँग हाल २ सय ४७ सिट रहेकोमा यसले करिब ५० सिट गुमाउन सक्ने मत सर्वेक्षणले देखाएका छन् । विपक्षी सीडीपीजेसँग हाल ९८ सांसद रहेकोमा यसले १ सय ४० सिटसम्म पुर्‍याउन सक्ने 'आशाही' पत्रिकाले हालै गरेको मत सर्वेक्षणले देखाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.