इरानमा इजरायली हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव, अरब मुलुकहरुको निन्दा

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इरानमा इजरायली हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव, अरब मुलुकहरुको निन्दा

काठमाडौं । इजरायलले इरानका सैन्य पूर्वाधारमाथि गरेको हवाई आक्रमणको अरब मुलुकहरुले निन्दा गरेका छन् ।

साउदी अरब, कतार, कुवेत र इजिप्टले इजरायली हमलाको विरोध गरेका हुन् । यसले मध्यपूर्वमा झन् तनाव बढ्ने खतरा देखिएको छ । मध्यपूर्वमा क्षेत्रीय शक्तिका रुपमा रहेको साउदी अरेबियाले इजरायलको नाम नलिई सैन्य संरचनामा निशाना बनाइएकोमा विरोध जनाएको हो । उक्त आक्रमण अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ताको उल्लंघन भएको साउदी अरेबियाको टीप्पणी छ ।

कतार र कुवेतले पनि इजरायली आक्रमणको भर्त्सना गरेका छन् भने इजिप्टले क्षेत्रीय तनाव निम्तने भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।

शुक्रबारमात्र इरानी विदेशमन्त्री अब्बास अर्घाचीले मध्यपूर्वका नेताहरुले इरानमाथि आक्रमणका लागि इजरायललाई हवाई क्षेत्र उपलब्ध नगराउने आश्वासन दिएको जनाउनु भएको थियो । गत अक्टोबरमा इजरायलमाथि करिब २ सय क्षेप्यास्त्र प्रहार गरेको जवाफमा इजरायलले इरानका सैन्य पूर्वाधारमाथि हवाइ हमला गरेको हो । इजरायल, अमेरिका तथा बेलायतले पनि आक्रमणको जवाफ नदिन इरानलाई दबाब दिएका छन् । तर, इरानले भने इजरायली आक्रमणको प्रतिरक्षा गर्नु आफ्नो अधिकार भएको जनाएको छ ।

इरानको रेभोल्युसनरी गार्डले राजधानी तेहरानको पश्चिम र दक्षिणी क्षेत्रमा रहेका सैन्य बेसमाथि आक्रमण भएको जनाएको छ । आक्रमणबाट २ सैनिक मारिएको इरानी सेनाले पुष्टि गरेको छ । यसैबीच अमेरिकाले इरानमाथि इजरायली आक्रमणको समर्थन गरेको छ । तर इजरायलले इरानी आणविक केन्द्रमा हमला गरेमा त्यो स्वीकार्य नहुने ह्वाइट हाउसले प्रष्ट पारेको छ। 

बाइडन प्रशासनले इरानको तेल भण्डारणबाट टाढा रहन इजरायललाई चेतावनी दिएको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.