अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने, चीन असन्तुष्ट

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्ने, चीन असन्तुष्ट

काठमाडौं । अमेरिकाले ताइवानका लागि २ अर्ब डलर बराबरका हात-हतियार बिक्री गर्न अनुमति दिएको छ । अमेरिकाले ताइवानका लागि सम्भावित हतियार प्याकेजलाई अनुमोदन गरेको हो ।

औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि ताइवानको आत्मरक्षाका लागि हतियार बिक्री गर्न कानुनी रुपमा बाध्य भएको अमेरिकाले जनाएको छ । अमेरिकाको निर्णयले चीन भने चिढीएको छ । यस पटक ताइवानलाई बिक्री गरिने हतियारमा युक्रेनद्वारा परीक्षण गरिएको मिसाइल प्रणालीसमेत समावेश छ ।

चीनले ताइवानलाई चारैतिरबाट घेरेर सैन्य अभ्यासमार्फत् दबाब बढाइरहेको छ । मे २०२४ मा लाइ चिङ-टेले ताइवानको राष्ट्रपतिको पदभार ग्रहण गरेपछि चीनले अभ्यासलाई तिव्रता दिएको हो । चीनले दबाब बढाइरहेका बेला अमेरिकाले ताइवानलाई आत्मरक्षा गर्न यस्तो कदम चालेको हो ।

पेन्टागनले नयाँ बिक्रीमा १ दशमलव १६ अर्ब डलरको क्षेप्यास्त्र र राडार प्रणाली समावेश गरेको जनाएको छ। मिसाइल प्रणालीका लागि प्राथमिक ठेकेदार ‘आरटीएक्स’ कर्पोरेसन हुने छ ।

ताइवानको सुरक्षा, राजनीतिक स्थिरता, सैन्य सन्तुलन र आर्थिक प्रगतिमा योगदान पुर्याउन हतियार बिक्री गर्ने योजना अनुमोदन गरिएको दाबी पेन्टागनले गरेको छ ।

ताइवानको रक्षा मन्त्रालयले अमेरिकी घोषणाको स्वागत गरेको छ । चीनको लगातार सैन्य अभ्यासको बीचमा हवाई रक्षा सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा ताइवानको छ । योसँगै ताइवानी सेनाले समेत आफ्नो सैन्य अभ्यास थालेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.