ब्रिक्स सम्मेलनमा सहभागिता जनाएपछि जेलेन्स्कीद्वारा यूएनका महासचिव गुटेरेसको किभ भ्रमण रद्द

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्रिक्स सम्मेलनमा सहभागिता जनाएपछि जेलेन्स्कीद्वारा यूएनका महासचिव गुटेरेसको किभ भ्रमण रद्द

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियको गुटेरेसको किभ भ्रमण रद्द गर्नुभएको छ ।

हालै रुसको कजानमा रुसद्वारा आयोजित १६ औँ ब्रिक्स सम्मेलनमा राष्ट्रसंघका महासचिवले सहभागिता जनाउनुभएको कारण उहाँको युक्रेन भ्रमण राष्ट्रपति जेलेन्स्कीले रद्द गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको राष्ट्रपति कार्यालयलका उच्च स्रोतले यस विषयको पुष्टि गरेको हो ।

कजानमा आयोजित ब्रिक्स सम्मेलनपछि महासचिव गुटेरेस युक्रेन भ्रमण गर्ने कार्यतालिका रहेको तर उहाँको ब्रिक्स सम्मेलनमा उपस्थितीले अन्तर्राष्ट्रिय कानुनको अपमान भएको कारण जेलेन्स्कीले उहाँको भ्रमण रद्द गर्नुभएको उच्च स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग महासचिव गुटेरेसले गरेको वार्ताले युक्रेनमा रुसी आक्रमण, राष्ट्रसंघीय बडा पत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको कारण युक्रेनी राष्ट्रपतिले यस्तो कदम चाल्नुभएको बताइएको छ । सम्मेलनमा गुटेरेसले पुटिनसमक्ष रुस–युक्रेन युद्धको अन्त्य गर्न आह्वान गर्दै न्यायपूर्ण शान्तिको आवश्यक कदम चाल्न आग्रह गर्नुभएको थियो । तर, ब्रिक्स सम्मेलनमा उहाँको सहभागिताले युक्रेनमा आक्रोश उत्पन्न गराएको बताइएको छ ।

पुटिनसँगको दुईपक्षीय वार्ताअघि नै युक्रेनी विदेश मन्त्रालयले गुटेरेसको आलोचना गर्दै उहाँले गत जुनमा स्विट्ल्यान्ड युक्रेनद्वारा आयोजना गरिएको शन्ति शिखर सम्मेलनमा भाग नलिएको भन्दै आपत्ती जनाएको थियो । साथै गुटेरेसद्वारा यो गलत छनौट भएको विदेश मन्त्रालयले जनाएको थियो ।

रुस र युक्रेनबीचको युद्ध भने जारी नै छ । यसअघि इरानले इजरायलमाथि गरेको आक्रमणको विषयमा महासचिवले आपत्ती नजाएको भन्दै इजरायलले गुटेरेसको इजरायल भ्रमणमा प्रतिबन्ध लगाइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.