इजरायली सेनाले दक्षिणपूर्वी लेबनानमा गरेको हमलामा तीन पत्रकार मारिए

युद्धअपराध भएको लेबनानका सूचनामन्त्रीको आरोप
कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली सेनाले दक्षिणपूर्वी लेबनानमा गरेको हमलामा तीन पत्रकार मारिए

काठमाडौं । इजरायली सेनाले दक्षिणपूर्वी लेबनानमा शुक्रवार बिहानै गरेको हवाई आक्रमणमा तीन पत्रकार मारिएका छन् ।

कम्तीमा सातवटा सञ्चार गृहका एक दर्जनभन्दा बढी पत्रकारले प्रयोग गर्दै आएको एउटा गेष्ट हाउसमा गरिएको हवाई आक्रमणमा तीन पत्रकार मारिएको बीबीसीले जनाएको छ । उनीहरु सुतिरहेकै बेला एका बिहानै आक्रमण गरिएको रोयटर्सले उल्लेख गरेको छ ।

विस्फोटमा परि अन्य तीन जना घाइते भएका छन् । उक्त गेष्ट हाउको कम्पाउन्ड प्रष्ट रुपमा प्रेस लेखिएका कारहरु देख्न सकिने समाचारमा जनाइएको छ । मारिने तीन जना अल मनार र अल मयादिन टीभीमा कार्यरत पत्रकार रहेको जनाइएको छ । अल मनार न्युज च्यानल इरान पक्षधर टीभी च्यानल भएको र अल मनार हिजबुल्लाहसंग आबद्ध रहेको बीबीसीले उल्लेख गरेको छ ।

मारिनेमा दुई जना क्यामरा पर्सन र एक जना इन्जिनियर हुन् । लेबनानका सूचनामन्त्रीले जानाजान उक्त आक्रमण गरिएको आरोप लगाउँदै यो युद्धअपराध भएको बताउनु भएको छ । इजरायलले लेबनानमा जारी राखेको आक्रमणमा यसअघि रोयटर्सका पत्रकार इसाम अब्दल्लाहसहित पाँच जना रिपोर्टर मारिइसकेका छन् ।

कमिटी टू प्रोटेक्ट जर्नालिष्टका अनुसार इजरायलले गाजामा एक वर्षभन्दा बढी समयदेखि जारी राखेको आक्रमणमा एक सय २३ जना प्यालेष्टिनी पत्रकार मारिएका छन् । इजरायल हमास द्वन्द्वमा दुई जना इजरायली पत्रकार समेत मारिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.