अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । गाजामा युद्धविराम र बन्धक रिहाइको पहल गर्न अमेरिकी विदेशमन्त्री आज इजरायल पुग्नुभएको हो ।

युद्धविरामको पहलका लागि उहाँले इजरायल र उसका छिमेकी अरब राष्ट्रका नेताहरुसँग छलफल गर्नु हुनेछ । गत वर्षको अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध सुरु भएयता मध्यपूर्वमा ब्लिन्केनको यो एघारौं भ्रमण हो । ब्लिन्केनले लेबनानमा भइरहेको संघर्ष कम गर्ने विषयमा पनि छलफल गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उहाँ एक साता मध्यपूर्वमा रहनुहुने छ ।

उहाँले आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र रक्षा मन्त्री योभ ग्लान्टसहित अन्य उच्च अधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उहाँ जोर्डन र कतारको समेत भ्रमण गर्ने बताइएको छ । युद्ध समाप्त भएमा गाजामा शासन गर्ने प्रस्तावहरूमा ब्लिन्केनले विशेष ध्यान केन्द्रित गर्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

यद्यपि, याह्या सिनवार मारिएपछि नेतृत्वविहीन भएको हमास र इजरायलबीच युद्धविरामको सम्भावना न्यून रहेको ब्लिन्केनसँग यात्रा गरिरहेका बीबीसीका संवाददाता टम बेटम्यानले बताउनुभएको छ ।

यसैबीच गएराति लेबनानको दक्षिणी भागमा इजरायली सेनाले गरेको आक्रमणको प्रत्याक्रमणमा हिजबुल्लाहले तेल अबिब र उत्तरी इजरायलतर्फ २० वटा साल्भो रकेट प्रहार गरेको इजरायली सेनाले जनाएको छ । तीमध्ये पाँच वटा रकेट इजरायलको सैन्य खुफिया बेस र अन्य १५ वटा उत्तरी इजरायलतर्फ प्रहार गरेको हिजबुल्लाहले दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.