इरानमाथि इजरायली हमलाको योजना चुहावटबारे अमेरिकाले थाल्यो अनुसन्धान

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इरानमाथि इजरायली हमलाको योजना चुहावटबारे अमेरिकाले थाल्यो अनुसन्धान

काठमाडौं । इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित दस्तावेज चुहावट भएको विषयमा अमेरिकाले अनुसन्धान थालेको छ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सभामुख माइक जोन्सनले दस्तावेज चुहावटबारे अमेरिकाले अनुसन्धान थालेको पुष्टि गर्नुभएको हो ।

इरानमाथि इजरायली हमलाको योजनासँग सम्बन्धित दुई दस्तावेजहरु अक्टोबर १८ मा ‘मिडल इस्ट स्पेक्टेटर्स’ नाम गरेको च्यानलमार्फत पोस्ट गरिएको थियो । तीमध्ये एउटा दस्तावेजका अनुसार इजरायलले आक्रमणका लागि हतियार ढुवानी गर्न थालेको तस्विरहरू पनि समावेश छन् । यो कागजात नेसनल जियोस्पेसियल इन्टेलिजेन्स एजेन्सीले तयार पारेको उल्लेख छ ।

त्यस्तै अर्को दस्तावेजमा इजरायली वायुसेनाको अभ्याससँग सम्बन्धित जानकारी समावेश छ । जसमा हावाबाट जमिनमा प्रहार गर्ने मिसाइलहरूको परीक्षणसँग सम्बन्धित जानकारी समावेश छ ।

उक्त दस्तावेजहरुमा हमलाका योजनाहरूको अमेरिकी मूल्याङ्कन समावेश रहेको बताइएको छ । बीबीसीको अमेरिकी सहयोगी संस्था सीबीएसका अनुसार यी दस्तावेजहरू अमेरिका, बेलायत, क्यानडा, न्युजिल्यान्ड र अष्ट्रेलियाको फाइभ आइज इन्टेलिजेन्स गठबन्धनसँग मात्र साझेदारी गर्न सकिन्थ्यो । चुहावट भएको अत्यन्त संवेदनशील भएका कारण अमेरिका र इजरायलबीचको सम्बन्धमा नकारात्मक असर पार्न सक्ने अनुमान गरिएको छ ।

हिजबुल्लाह र हमासको समर्थनमा इरानले अक्टोबर १ मा इजरायलतर्फ करिब २ सय ब्यालेस्टिक मिसाइल आक्रमण गरेको थियो । जुन सन् २०२४ मा इरानले इजरायलमाथि गरेको दोस्रो आक्रमण हो । यसअघि अप्रिल महिनामा इरानले इजरायलमाथि आक्रमण गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.