हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र वित्तीय संस्थालाई लक्षित गरि इजरायली सेनाको आक्रमण

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र वित्तीय संस्थालाई लक्षित गरि इजरायली सेनाको आक्रमण

काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानीमा रहेको बेरुत अन्तर्राष्ट्रिय विमान स्थलसँगै हिजबुल्लाहको नियन्त्रणमा रहेको देहियाह जिल्लालक्षित आक्रमण जारी राखेको छ ।

केहि बेरमा बेरुत र अन्य स्थानहरुमा आक्रमण गर्ने तयारी गरिरहेको भन्दै इजरायली सेनाले बेरुतको १४ स्थानसहित २४ स्थानका वासिन्दाहरुलाई तत्काल अन्यत्र जान आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय पूर्वाधारहरूलाई लक्षित गर्ने गरी आक्रमणको तयारी थालेको समेत बताइएको छ ।

लेबनानको राज्य सञ्चालित मिडियाले पनि देशको पूर्व क्षेत्रमा इजरायली सेनाले आक्रमण गरेको बताएको छ । उक्त हमलामा कुनै हताहत भए नभएको जानकारी बाहिर आएको छैन ।

आइडीएफका प्रवक्ता रियर एडम ड्यानियल हगारीले केहि घण्टामा आक्रमण हुने भन्दै तुरुन्तै यी स्थानहरूबाट टाढा जान चेतावनी दिनुभएको छ ।

लेबनानको राज्य-संचालित मिडियाले देशको पूर्वी बेका उपत्यकामा रहेको बैंक अल-कर्द अल-हसन संघमा इजरायली सेनाले आक्रमण गरेको जनाएको छ ।

यसैबीच विगत २४ घण्टामा लेबनानबाट इजरायलतर्फ करिब सय भन्दै बढी रकेट प्रहार गरेको आइडीएफले पुष्टि गरेको छ । यस्तै आइडीएफको लडाकु विमानले हिजबुल्लाहको खुफिया मुख्यालयको कमाण्ड सेन्टर र बेरुतमा भूमिगत हतियार कार्यशालामा गुप्तचरमा आधारित आक्रमण गरेको छ ।

त्यस्तै लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल) ले इजरायलको सीमामा रहेको दक्षिणी लेबनानी सहर मारवाहिनमा संयुक्त राष्ट्रको अवलोकन टावर र पर्खाल इजरायली सेनाले भत्काएको आरोप लगाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.