रिपब्लिकन पार्टीका एजेन्डामा सहमतिको हस्ताक्षर गर्ने मतदातामध्ये दैनिक एक जनालाई दश लाख डलर दिने इलोन मस्कको घोषणा

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रिपब्लिकन पार्टीका एजेन्डामा सहमतिको हस्ताक्षर गर्ने मतदातामध्ये दैनिक एक जनालाई दश लाख डलर दिने इलोन मस्कको घोषणा

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा अर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्कले, रिपब्लिकन पार्टीप्रति झुकाव राख्ने एउटा आवेदनपत्र ‘पेटिशन’मा हस्ताक्षर गर्ने मतदातामध्ये प्रत्येक दिन एक जनालाई दश लाख डलर पुरस्कार दिने घोषणा गरेका छन् ।

यो योजना निर्वाचनको दिन पाँच नोभेम्बरसम्म चल्ने जनाइएको छ । यो योजनामा सहभागी हुन अमेरिकाको रजिष्टर्ड मतदाता हुनुपर्ने छ । आवेदनपत्रमा संविधानको पहिलो तथा दोस्रो संशोधन अर्थात् अभिव्यक्ति स्वतन्त्रता र बन्दुक राख्न पाउने अधिकारको पक्षमा प्रतिबद्धता जनाइएको छ ।

मस्कले शनिबार सामाजिक संजाल एक्समार्फत यो कुराको घोषणा गरेका हुन् भने शनिबार नै उनले पेन्सिल्भेनियामा आयोजित चुनावी सभामा सहभागी जोन ड्रेहेरे नामका मतदातालाई दश लाख डलरको चेक हस्तान्तरण गरेका छन् ।

मस्कले रिपब्लिकन उम्मेदवार तथा पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको समर्थनमा स्थापना गरेको अमेरिका प्याकबाट उक्त रकम दिइने जनाइएको छ ।

आफ्नो प्रतिबद्धतामा अडिग रहेको र अमेरिका प्याकको एकल दाता रहेको अवस्थामा यो योजना अन्तर्गत मस्क एक्लैले एक करोड ७० लाख डलर खर्च गर्नेछन् । मस्कले अमेरिका प्याकलाई अहिलेसम्म साढे ७ करोड डलर आर्थिक सहयोग गरेका छन् । अमेरिका पोलिटिकल एक्सन कमिटि ‘अमेरिका प्याक’ ट्रम्पको पक्षमा चन्दा संकलन गर्न र प्रचार अभियानमा सघाउन खडा गरिएको समिति हो ।

यो समितिले कडा प्रतिष्पर्धा भएको मानिएका स्वीङ्ग वा ब्याटल ग्राउण्ड राज्यहरुमा मतदाता दर्ता र परिचालनमा सघाइरहेको छ । यसअघि मस्कले पेन्सिल्भेनियाका मतदातालाई उक्त आवेदनपत्रमा हस्ताक्षर गरेको अवस्थामा प्रति मतदाता ४७ डलर दिने घोषणा गरेकोमा अघिल्लो साता त्यसलाई बढाएर एक सय डलर पुर्याएका थिए ।

विगतका वर्षहरुमा डेमोक्र्याटिक उम्मेदवारलाई मत दिएको बताउंदै आएका मस्कले यस वर्ष भने यू टर्न लिंदै गत जुलाइमा ट्रम्पको पक्षमा खुलेर समर्थन जनाएका हुन् । ट्रम्पले पनि आफू अमेरिकाको राष्ट्रपति निर्वाचित भएको अवस्थामा मस्कलाई सरकारी कार्यकुशलता आयोगको प्रमुख बनाउने घोषणा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.