इजरायलद्वारा लेबनानमा हिजबुल्लाहसँग सम्बन्ध भएको ‘अल कार्ड अल हसन’ बैंक लक्षित हवाई आक्रमण

हिजबुल्लाहलाई हतियार खरिदमा भुक्तानी दिने गरेको आरोप
कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा लेबनानमा हिजबुल्लाहसँग सम्बन्ध भएको ‘अल कार्ड अल हसन’ बैंक लक्षित हवाई आक्रमण

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहसँग प्रत्यक्ष सम्बन्ध भएको भनिएको बैंकका शाखा कार्यालयहरु लक्षित हवाई आक्रमण गरेको छ ।

आक्रमणअघि इजरायली सेनाले एक घण्टाभन्दा कमको अवधिमा १४ वटा चेतावनी जारी गरेको थियो । इजरायली सेनाले गरेको हवाई आक्रमणमध्ये दुई वटा राजधानी बेरुतस्थित विमानस्थल नजिकै भएको र आक्रमणका बेला केही यात्रुबाहक विमान विमानस्थलमा अवतरण गरिरहेको समय रहेको बीबीसीले जनाएको छ ।

इजरायली रक्षा बल आईडीएफले आज विज्ञप्ति जारी गर्दै हिजबुल्लाहका आतंककारी गतिविधिलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गर्ने बैंक "अल कार्ड अल हसन-एक्युएएच" लाई लक्षित गर्दै हवाई आक्रमण गरेको र सर्वसाधारतर्फ क्षति नहोस भनेर पूर्वचेतावनी जारी गर्ने लगायतका थुप्रै कदम चालेको दाबी गरेको छ ।

इजरायली सेनाले खास गरी दक्षिणी लेबनानमा आक्रमण गरेको र आक्रमणमा १६ वटा भवन ध्वस्त भएको जनाइएको छ । विज्ञप्तिमा एक्यूएएच बैंकले प्रत्यक्ष रुपमै हिजबुल्लाहलाई हतियार खरिद र यसको सेनामा रहेका सैनिकलाई भुक्तानीका लागि रकम दिने गरेको आरोप लगाइएको छ ।

हिजबुल्लाहलाई बैंकिक सिस्टम छल्न सहयोग गर्दै आएको भन्दै अमेरिकाले सन् २००७देखि नै एक्यूएएच बैंकमाथि प्रतिबन्ध लगाउँदै आएको छ । एक्यूएएच बैंकको लेबनान भर ३४ वटा शाखा कार्यालय छन् । यसैबीच अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले इजरायलाई पठाएको थाड क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली इजरायल पुगिसकेका बताउनुभएको छ ।

थाडसँगै यसको सञ्चालनका लागि वासिङ्गटनले एक सय जना अमेरिकी सैनिक पनि इजरायलमा खटाउने जनाइएको छ । इजरायलले शत्रुले प्रहार गरेको क्षेप्यास्त्रलाई हवामै ध्वस्त पार्न आइनर डोम, डेभिड्स स्लिङ्ग र एरो सिष्टम प्रयोग गर्दै आएकोमा अब यसको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा थाड पनि थपिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.