हमासका राजनीतिक प्रमुख याह्या सिनवार गाजामा सैन्य कारबाहीमा मारिएको इजरायलको दाबी

युद्ध अन्त्य नभएको इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाइ
कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
हमासका राजनीतिक प्रमुख याह्या सिनवार गाजामा सैन्य कारबाहीमा मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायलले हमासका राजनीतिक प्रमुख याह्या सिनवार गाजामा गरिएको सैन्य कारबाहीमा मारिएको दाबी गरेको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार हमासका शीर्ष नेता याह्या सिनवार इजरायली सेनाले दक्षिणी गाजामा गरेको कारबाहीमा मारिएको पुष्टी भएको बताउनुभएको हो ।

इजरायली विदेशमन्त्री इजरायल काट्ज, इजरायल डिफेन्स फोर्स-आईडीएफ र इजरायल सुरक्षा एजेन्सी -आईएसएले पनि बिहीबार सिनवारको मृत्यु भएको घोषणा गरेका छन् । संयुक्त विज्ञप्तिमा उनीहरुले दक्षिणी गाजामा इजरायली सैनिकले सिनबारलाई मारेको बताए । 

हमासले भने सिनवारको मृत्युको पुष्टि गरेको छैन। यसै वर्षको जुलाईमा इरानको तेहरानमा मारिएका इस्माइल हनियाहको स्थानमा सिनवार हमासको राजनीतिक ब्युरो प्रमुखको रूपमा अगस्ट ६ मा निर्वाचित भएका थिए ।

सिनवार गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अप्रत्याशित र आश्चर्यजनक आक्रमणको मास्टर माइन्ड रहेको विश्वास गरिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिनवार मारिएको दाबी गर्दै यो गाजा युद्धको अन्त्य भने नभएको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सिनवारको मृत्युमा नेतन्याहुलाई बधाई दिनुभएको सीएनएनले उल्लेख गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.