रवि लामिछाने पक्राउ परेको बारे सभामुख घिमिरेलाई जानकारी

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
रवि लामिछाने पक्राउ परेको बारे सभामुख घिमिरेलाई जानकारी

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछाने पक्राउ परेको बारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

रास्वपाको पार्टी केन्द्रिय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई प्रहरीले आजै पोखरा लैजाँदै छ । लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा समेत अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

प्रहरीले अदालतबाट लिएको पक्राउ अनुमति पत्रमा 'ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा'मा अनुसन्धान गर्नका लागि पक्राउ गर्न भनिएको छ । संगठित अपराध निवारण ऐनको दफा ३ को उपदफा २ अनुसार अपराधिक समूहको लाभका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भइ गरिने गम्भीर अपराधलाई संगठित अपराधको रुपमा परिभाषित गरिएको छ ।

यस्तै आपराधिक समूहलाई संगठित अपराध गर्न सघाउने साथै संगठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिनुलाई समेत ऐनले संगठित अपराध भनेको छ । यस्तो अपराध गर्नेलाई कम्तीमा ३ वर्ष र बढीमा १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ भने संगठित अपराधको षडयन्त्र गर्ने मुख्य व्यक्ति वा कसुर गर्न अह्राउने व्यक्तिलाई जन्मकैदको समेत व्यवस्था छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.