हेर्दाहेर्दै क्षणभरमै आमा र दाइ जले...

कार्तिक १, २०८१ |प्रभात सिंह
हेर्दाहेर्दै क्षणभरमै आमा र दाइ जले...

काठमाडौं । इजरायलले गाजामा हमास समूहलक्षित आक्रमण थालेको १ वर्ष बितिसकेको छ । त्यहाँ दिनहुँजसो हुने आक्रमणबाट बँच्न लाखौँ प्यालेस्टिनी अस्पताल र विद्यालय क्षेत्रमा शरण लिन बाध्य छन् । तर, शरण लिएका स्थानमा समेत इजरायलले आक्रमण गरिरहेको छ ।

गत सोमबार हमासको कमान्ड सेन्टर भन्दै इजरायलले अस्पताल परिसरमा आक्रमण गर्‍यो । जसबाट सल्किएको आगोले हेर्दाहेर्दै आमा र दाइ जले, तर १७ वर्षीय मोहम्मद-अल-दलाउले बचाउन सकेनन् ।

इजरायली आक्रमणबाट सबथोक गुमिसकेको थियो । अब ज्यान बचाउनु थियो । मोहम्मद-अल-दलाउको परिवार मध्य गाजाको दियर-अल-बलाह सहिद अस्पताल परिसरमा टेन्टमुनि शरण लिइरहेको थियो । 

जहाँ मोहम्मदसहित उनका बुबा, आमा, दाइ र अन्य नातेदार त्रासदीका दिन बिताइरहेका थिए । तर, गत सोमबारक मोहम्मदको जीवनमा अर्को त्रासदी थपिदियो । इजरायलले अस्पताल परिसर नजिकैको पार्किङस्थल लक्षित आक्रमण गर्यो । आक्रमणको आवाज सुन्नासाथ मोहम्मद बाहिर निस्किन सफल भए ।

तर, उनका दाइ शाबान र आमा भने टेन्टबाट निस्कन सकेनन् । क्षणभरमै टेन्टमा भीषण आगो लाग्यो । शाबान र उनकी आमाले आगोको लप्काबीच मद्दतका हात हल्लाइरहे । जलिरहेका शाबानलाई बचाउन मोहम्मदले प्रयास गरे । तर, सकेनन् ।

मोहम्मदको परिवारसँगै नजिकैको टेन्टमा उनकी आफन्त कारवाहन-अल-दलाउ पनि आफ्नो बालबच्चासहित शरण लिएर बसिरहेकी थिइन् । उनीहरु पनि आगो लाग्नेबित्तिकै भागे । केही घाइते भए । कारवाहन पनि मोहम्मदको दाइ र आमा जलेको घटनाको प्रत्यक्षदर्शी थिइन् ।

आक्रमणमा शाबान र उनकी आमासहित तीन जनाको मृत्यु भयो, जसको इजरायलले दाबी गरेजस्तो हमाससँग कुनै साइनो थिएन । हमासले उक्त अस्पतालमा आफ्नो कमाण्ड सेन्टर रहेको विषयलाई अस्वीकार गरेको छ भने अमेरिकाले समेत निर्दोष नागरिक मारिएको यो घटनाको निन्दा गरेको छ । 

एक वर्षदेखि जारी इजरायली आक्रमणबाट करिब साढे ४२ हजार प्यालेस्टिनी मारिइसकेका छन्, जसमा झन्डै १७ हजार बालबालिका छन् ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।