उत्तर कोरियाले गर्यो संविधान संशोधन, दक्षिण कोरियालाई शत्रु राष्ट्रका रुपमा परिभाषित

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तर कोरियाले गर्यो संविधान संशोधन, दक्षिण कोरियालाई शत्रु राष्ट्रका रुपमा परिभाषित

काठमाडौं । उत्तर कोरियाले आफ्नो संविधानमा संशोधन गरेको छ । पहिलो पटक दक्षिण कोरियालाई 'शत्रु राष्ट्र' भनेर परिभाषित गर्दै उत्तर कोरियाले संविधान संशोधन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाको संसद्ले गत हप्ता संविधानमा परिवर्तन गर्न दुई दिन बैठक गरेको थियो । उत्तर कोरियाली नेता किम जोङ उनले गत जनवरीमै दक्षिण कोरियालाई देशको मुख्य शत्रु घोषणा गर्न संविधानमा परिवर्तन गर्न आह्वान गर्नुभएको थियो ।

साथै उहाँले त्यसबेला शान्तिपूर्ण कोरियाली एकीकरणको लक्ष्यलाई अन्त्य गर्ने तथा उत्तर कोरियाको सार्वभौमसत्ता र क्षेत्र पुनः परिभाषित गर्नका लागि संविधानमा आवश्यक परिवर्तनको आह्वान गर्नुभएको थियो ।

दुई दिनअघि मात्र उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिने सडक र रेल मार्गलाई विस्फोट गराएर ध्वस्त पारेको थियो ।

विस्फोटपछि कोरियाली समाचार समिति–केसीएनएले संविधानले स्पष्ट रूपमा दक्षिण कोरियालाई शत्रु राज्यको रूपमा परिभाषित गरेको पुष्टि भएको जनाएको हो । केसीएनएले संवैधानिक परिवर्तनबारे थप विवरण भने नदिएको बताइएको छ ।

यसैबीच उत्तर कोरियाले आफ्नो सैन्य बल विस्तार गर्न थप १४ लाख नयाँ सैनिक भर्ती गरिरहेको दाबी गरेको छ । उत्तर कोरियामा झन्डै १३ लाख सक्रिय सैनिक छन् भने ६ लाख रिजर्भमा छन् । त्यस्तै नेता किमले उत्तर कोरियालाई उक्साउने र कोरियाली प्रायद्वीपमा शत्रुता बढाएको आरोपमा दक्षिण कोरिया र अमेरिकासँग सम्भावित द्वन्द्वमा आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.