विपद्पीडितलाई कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न प्रधानमन्त्रीको निर्देशन

कार्तिक २, २०८१ |कान्तिपुर टीभी संवाददाता
विपद्पीडितलाई कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदपीडितलाई कात्तिक मसान्तभित्र अस्थायी आवास निर्माणको रकम निकासा गरिसक्न तथा बिजुली, स्वास्थ्य, खानेपानीलगायत अवरुद्ध सेवा १५ दिनभित्र खुलाउन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो ।

उहाँले विपद्पछिको क्षतिको विस्तृत मूल्याङ्कन छिट्टै गरी पुनः निर्माणमा अपुग हुने रकम जुटाउन दातृ निकाय वा विदेशी सरकारको सहभागितामा सम्मेलन गर्न पनि निर्देश गर्नुभयो । उहाँले किसानहरुलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिँदै भत्किएका कुलोहरुको मर्मत आगामी जेठ १५ भित्र गरिसक्न आग्रह गर्नुभयो ।

बैठकले २० जिल्लाका ७१ वटा स्थानीय तहलाई आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण अधिकारीहरुले जानकारी दिए ।

असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट उत्पन्न परिस्थिति २०७२ सालको विनासकारी भूकम्पपछिको ठूलो विपद् भएको प्रधानमन्त्री ओलीको भनाइ छ । परिषद्का अध्यक्षसमेत रहनुभएका ओलीले खोज, उद्धार, राहत र पुनःनिर्माणका लागि गम्भीरताका साथ काम भइरहेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.