बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

कार्तिक १, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । बंगलादेशको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

शेख हसिनालाई गत जुलाई-अगस्टमा देशमा भएका अपराधमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएको जनाइएको छ । अदालतका अध्यक्ष मोहम्मद गुलाम मुर्तजाको इजलासले आज यस्तो आदेश दिएको हो । प्रमुख सरकारी वकिल ताजुल इस्लामले पत्रकार सम्मेलन गरी शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जानकारी दिनुभएको हो ।

इन्टरनेसनल क्रिमिनल ट्रिब्युनल–आईसीटीले शेख हसिना र ओबैदुल कादरसहित ४६ जनाविरुद्ध दुई छुट्टा-छुट्टै उजुरीको सन्दर्भमा पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हसिनालाई नोभेम्बर १८ अघि अदालतमा उपस्थित हुन आदेश दिइएको बताइएको छ ।

आईसीटीले एउटा मुद्दामा शेख हसिनालाई पक्राउ गर्न वारेन्ट जारी गरेको छ भने अर्को मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादरसहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएको छ । जसमा लेखक तथा शिक्षाविद् जफर इकबाल र पूर्व न्यायाधीश शमसुद्दीन चौधरी माणिक पनि छन् ।

सरकारी जागिरमा कोटाको विषयमा देशव्यापी रुपमा चर्किएको विद्यार्थी आन्दोलनका क्रममा सात सय जनाको मृत्यु भएको थियो भने हजारौँको संख्यामा घाइते भएका थिए । सोही आन्दोलनका कारण गत अगस्ट ५ मा शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पलायन हुनु भएको थियो। 

त्यसयता उहाँ भारतमा बस्दै आउनुभएको छ । अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले सन् १९७१ को मुक्तियुद्धमा भएको मानवीय अपराधसम्बन्धी मुद्दाको पनि सुनुवाइ गरेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.