विपक्षी दलहरु सरकारविरुद्ध मोर्चाबन्दीको प्रयासमा

सरकार असफल भएको जिकिर
विपक्षी दललाई फुटाउन खोजेको आरोप
कार्तिक २, २०८१ |दशरथ राई
विपक्षी दलहरु सरकारविरुद्ध मोर्चाबन्दीको प्रयासमा

काठमाडौं । सरकारले काम गर्न नसकेको भनेर आलोचना बढीरहेका बेला विपक्षी दलहरुले पनि मोर्चाबन्दी थालेका छन् । संसद्को विशेष अधिवेशन आह्वानमा दबाब दिनेदेखि विपक्षीलाई अप्ठ्यारो पार्ने काम गरे प्रतिकार गर्नेसम्मको तयारी उनीहरुको छ । 

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुअघि आज उनकै आग्रहमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलहरुको बैठक बोलाएर सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको हो । विपक्षी कुनै पनि दलमाथि सरकारले निशाना साँधे चुप लागेर नबस्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली नेतृत्वको सरकार देशमा सुशासन कायम गर्न र विपद्पका बेला नागरिकको उद्धारसम्म गर्न नसकेर असफल भएको निष्कर्ष निकालेका छन् । यस्तो निष्कर्ष निकालेको विपक्षीको बैठकमा सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी र सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी समेत सहभागी थिए ।

सरकारविरुद्ध विपक्षी दलहरु एकजुट हुनुका आ-आफ्नै स्वार्थ देखिन्छन् । माओवादी केन्द्रले त आफू नेतृत्वको सरकार ढलेको पीडा भुल्न सकेको छैन । शुक्रबारको बैठकमा सबैले आ-आफ्ना एजेन्डा अघि सारे । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति लामिछानेले सरकारले प्रतिशोध साँधेर आफूलाई पक्रन लागेको भन्दै प्रतिवाद गर्न सहयोग माग्नुभयो । लगत्तै माओवादी केन्द्रका अध्यक्ष दाहालले लामिछानेलाई जुनसुकै बेला सरकारले पक्राउ गर्न सक्ने सूचना आफूले पाएको जानकारी दिनुभएको थियो ।

बैठकले सरकारलाई ध्यानाकर्षण गराउन माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल सम्मिलित तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई ध्यानाकर्षणसहितको ज्ञापनपत्र बुझाउने र आगामी दिनको कार्यक्रमको तयारी गर्ने छ ।

प्रमुख प्रतिपक्षी दलका नेताले बोलाएको बैठकमा सरकारमै सहभागी दल लोसपाका अध्यक्ष महन्थ ठाकुरसमेत उपस्थित हुनुभयो । ठाकुरले दाहालको सचिवालयले दलहरुको बैठक भनेर बोलाउँदा आफू झुक्किएर पुगेको बताए पनि उहाँ पूरै अवधि बैठकमा बस्नुभएको थियो । 

लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुनुहुन्छ । सरकारलाई समर्थन गरेको अर्को दल नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि विपक्षीको बैठकमा सहभागी हुनुभयो जो बैठक सक्नेवित्तिकै मिडियालाई छलेर बाहिरिनुभयो । सरकार गठनको एक सय दिन पुरा नहुँदै घेराबन्दी सुरु हुँदा सरकार र विपक्षी दलहरुबीचको दुरी झनै बढ्ने देखिएको छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।