विश्वका २० लाख बालबालिका अतिकूपोषणले मृत्युको जोखिममा : युनिसेफ

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
विश्वका २० लाख बालबालिका अतिकूपोषणले मृत्युको जोखिममा : युनिसेफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालबालिका कोष युनिसेफले चरम कुपोषणबाट प्रभावित विश्वका करिब २० लाख बालबालिका 'तयारी उपचारात्मक भोजन-आरयूटीएफ' खरिदका लागि कोषको अभावमा मृत्युको जोखिममा रहेको चेतावनी दिएको छ ।

युनिसेफले दातृ निकाय र देशहरुसँग 'आरयूटीएफ'को अभाव हुन नदिन 'नो टाइम टु वेष्ट अक्सेलरेसन' योजनाका लागि साढे १६ करोड अमेरिकी डलर आर्थिक सहयोगका लागि आह्वान गरेको छ ।

द्वन्द्व, अप्रत्याशित आर्थिक दुरुहता र जलवायु संकटका कारण विश्वका थुप्रै देशमा ५ वर्षमुनिका बालबालिकामा चरम कुपोषणको मात्रा अत्यधिक उच्च रहेको यूनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

आरयूटीएफको अभावका कारण कूपोषणबाट अति प्रभावित विश्वका १२ मुलुकका करिब २० लाख बालबालिका मृत्युको जोखिमा रहेको युनिसेफका बालपोषण र विकास निर्देशक भिक्टर अग्वायोले बताउनुभयो । 

माली, नाइजेरिया, निजेर र चाडले या त अहिले नै आरयूटीएफको अभावको सामना गरिरहेका छन् या चाँडै नै ती देशमा यसको मौज्दात सकिन लागेको अग्वायोको भनाइ छ । 

यसैगरी, क्यामरुन, पाकिस्तान, सुडान, मेडागास्कर, साउथ सुडान, केन्या, कंगो र युगान्डामा वर्ष २०२५ को मध्यसम्ममा आरयूटीएफको मौज्दात सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । 

मालीमा मात्रै पाँच वर्षमुनिका ३ लाख बालबालिका यो वर्ष गम्भीर कुपोषणको शिकार हुने सम्भावना रहेको बताइएको छ । लामो समयदेखिको सुक्खा, बाढी तथा अप्रत्याशित,अनियमित र बेमौसमी वर्षाका कारण अफ्रिकाको साहेल क्षेत्रको अवस्था थप खराब रहेको यूनिसेफले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.