गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायलाई अमेरिकाको ३० दिने अल्टिमेटम

आश्विन ३०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजामा मानवीय सहायताको पहुँच बढाउन इजरायलाई अमेरिकाको ३० दिने अल्टिमेटम

काठमाडौं । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । ३० दिनभित्र मानवीय सहायताको पहुँच नबढाए इजरायललाई दिइने सैन्य सहायता कटौती गर्ने जोखिम उत्पन्न हुने अमेरिकाको चेतावनी छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनियो ब्लिन्केन र रक्षा मन्त्री लियोर्ड अस्टिनले इजरायललाई गाजाको विषयमा वाशिंगटनको चासो रहेको बताउँदै लिखित पत्रमार्फत ३० दिने अल्टिमेटम दिएको अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले जनाउनुभएको हो ।

अमेरिकाद्वारा उक्त चेतावनी उत्तरी गाजामा नयाँ इजरायली आक्रमणको बीचमा आएको बताइएको छ । इजरायली सेनाले उत्तरी गाजातर्फ नयाँ मोर्चा खोलेको कारण त्यहाँ ठूलो संख्यामा नागरिक हताहत भएको विषयलाई लिएर अमेरिकाले आपत्ती समेत जनाएको प्रवक्ता मिलरले बताउनुभएको छ ।

गाजामा बिग्रँदै गएको मानवीय अवस्थाको बारेमा अमेकिराको गहिरो चासो रहेको र इजरायलले गत महिना उत्तर र दक्षिण बीचको करिब ९०% मानवीय सहायतालाई बाधा पुर्या‍एको समेत पत्रमा स्पष्ट पारिएको प्रवक्ताको भनाइ छ ।

अमेरिकाले पठाएको पत्रको समीक्षा इजरायलले गरिरहेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । अधिकारीका अनुसार इजरायलले उक्त पत्रको समीक्षा गरेको आवश्यक विषयलाई सम्बोधन गर्ने र इजरायली सेनाले मानवीय सहायतालाई बाधा नपुर्याइ उत्तरमा हमास लक्षित आक्रमण गरेको छ ।

प्रवक्ता मिलरले नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूलाई विभिन्न अवरोध पार गर्दै गाजामा मानवीय सहायता प्राप्त गर्न सम्भव जिवित रहेको बताउनुभयो । इजरायलले उत्तरतर्फ गरेको ‘भयानक’ आक्रमणलाई उद्धृत गर्दै नागरिकहरूको सुरक्षाका लागि इजरायलले गरेको प्रयासको आलोचना समेत उहाँले गर्नुभयो ।

प्रवक्ताले गाजाबाट जबरजस्ती स्थानान्तरण र गाजा क्षेत्रको कुनै पनि स्थायी कब्जामा अमेरिकी विरोध दोहोर्याउनुभएको रोयटर्सले जनाएको छ । उहाँले उत्तरी गाजाको ‘अत्यन्तै डरलाग्दो’ अवस्था सिर्जना भएको विषयमा प्रकाश समेत पार्नभयो । इजरायलले विगत दुई सातादेखि उत्तरी गाजामा आफ्नो आक्रमणलाई तिव्र पारेको जसमा आम नागरिकहरुको समेत ज्यान जोखिममा रहेको छ ।