प्रियंका गान्धी केरलको वायनाडबाट चुनाव लड्ने

आश्विन ३०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
प्रियंका गान्धी केरलको वायनाडबाट चुनाव लड्ने

काठमाडौं । भारतीय कंग्रेस पार्टीले नेतृ प्रियंका गान्धीलाई केरलको वायनाड लोकसभा सिटमा हुने उपचुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेको छ ।

कंग्रेसको घोषणसँगै प्रियंका पहिलो पटक चुनावी मैदान देखिनु हुने छ । अहिलेसम्म पार्टीले दिएको जिम्मेवारी सम्हाल्दै आए पनि अब भने उहाँ चुनावी राजनीतिमा प्रवेश गर्नुभएको हो ।

चुनाव आयोगले हिजो केरलको वायनाड र महाराष्ट्रको नादेन्ड लोकसभासहित ४८ विधानसधा क्षेत्रमा उपचुनावको मिति घोषणा गरेपछि कंग्रेसले वायनाड लोकसभा निर्वाचन क्षेत्रबाट प्रियंका गान्धीलाई उम्मेद्वार बनाउने घोषणा गरेको हो ।

१३ नोभेम्बरमा केरलको वायनाड लोकसभा सिटमा उपचुनाव हुनेछ भने चुनावको अन्तिम नतिजा २३ नोभेम्बरमा सार्वजनिक हुने छ।

यही वर्ष सात चरणमा भएको लोकसभा चुनावमा कंग्रेस नेता राहुल गान्धीले उत्तर प्रदेशको रायबरेली र केरलको वायनाडबाट चुनाव लड्नुभएको थियो । दुवै सिटमा राहुलले बाजी मार्नुभएको थियो । तर, दुई क्षेत्रमा एउटै सांसदले प्रतिनिधितव गर्न नपाउने प्रावधान रहेकाले राहुलले गान्धी परिवारको विरासत भएको रायबेरेली क्षेत्रलाई रोजेर वायनाडको सिट त्याग्नुभएको थियो ।

वायनाड उपचुनावका लागि आफ्नो नाम घोषणा भएपछि प्रियंकाले खुसी व्यक्त गर्नुभएको छ । उहाँले वायनाडवासीलाई राहुल गान्धीको अनुपस्थिति महसुस हुने नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।