बाँकेका किसानलाई धान भित्र्याउन हतारो, उत्पादन पनि सप्रियो

आश्विन ३०, २०८१ |जे पाण्डे
बाँकेका किसानलाई धान भित्र्याउन हतारो, उत्पादन पनि सप्रियो

बाँके । दशैं लगत्तै मनसुनसमेत बाहिरिएपछि किसान धान भित्र्याउने चटारोमा छन् । नेपालमा वाषिर्क सरदर ५५ लाख टन धान उत्पादन हुन्छ । जबकि, मुलुकलाई आत्मनिर्भर हुन झन्डै ६८ लाख टन धान चाहिन्छ । 

करिब १० लाख टन धान पेय पदार्थ, पशु आहार र बीउका लागि प्रयोग गरिन्छ । प्रमुख बाली धानको परम्परागत खेती प्रणालीका कारण उत्पादन बढ्न नसक्दा आयातमा भर पर्नुपरेको छ । यस वर्ष धान भित्र्याउने चटारोमा रहेका बाँकेका किसान भने उत्पादन राम्रो भएको भन्दै उत्साहित देखिएका छन् ।

यस वर्ष मल, बीउ र पानीको उचित व्यवस्था भएपछि धान राम्रोसँग फलेको जलपोखरी बाँकेकी किसान पवित्रा भण्डारी बताउनुहुन्छ । मेहनत अनुरुपको राम्रै प्रतिफल देख्दा खुसी लागेको उहाँको भनाइ छ । 

कतिपय किसानले त धान काटेर तोरी, गहुँजस्ता बाली लगाउन खेतसमेत जोतिसकेका छन् । मनसुन बाहिरिएकाले अब वर्षाको सम्भावना टाडिँदै गएको छ । तर हिउँदमा खेती गर्न सिँचाइको सुविधा भने छैन ।

कृषि तथा पशुपन्छी विकास मन्त्रलायको तथ्यांक अनुसार नेपालमा झन्डै १४ लाख हेक्टरमा धान रोपिन्छ । उत्पादनले भने धान्ने गरेको छैन । धान मात्र नभएर गहुँ, मकै, दलहनजस्ता खाद्यान्नको समेत आयातमै भर पर्नुपरेको छ । 

नेपालमा अझै वाषिर्क साढे ८ लाख टन खाद्यान्न अपुग हुने गरेको छ । खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाउन मल, बीउ र सिँचाइमा किसानको पहुँच पुर्‍याउने मात्र होइन, खेती प्रणालीलाई पनि आधुनिकीकरण गर्नुको विकल्प छैन ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।