इरानमाथि प्रत्याक्रमणको इजरायली योजना तयार

लेबनानमा हिजबुल्लाहविरुद्ध युद्धविरामको पक्षमा आफू नरहेको इजरायली प्रधानमन्त्रीको स्पष्टोक्ति
आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 इरानमाथि प्रत्याक्रमणको इजरायली योजना तयार

काठमाडौं । मध्यपूर्व जारी युद्धले वृहत रुप लिने खतरा बढीरहेका बेला इरानमाथि प्रत्याक्रमणको इजरायली योजना तयार रहेको स्रोतलाई उल्लेख गर्दै सीएनएनले जनाएको छ ।

इरानले यही अक्टोबर एकमा इजरायलमाथि १ सय ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो भने इजरायलले बदलाको कारबाही गर्ने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायतका इजरायली अधिकारीले अमेरिकालाई इजरायली प्रत्याक्रमण तेल खानी वा परमाणु उर्जा उत्पादन केन्द्रमा नभई सैन्य ठेगानामा सीमित रहने विश्वास दिलाएको जनाइएको छ ।

नेतन्याहुले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी युद्धमा आफ्नो देश एकतर्फी युद्धविरामको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभएको छ । उता हिजबुल्लाहले इजरायललाई युद्धविरामको प्रस्ताव स्वीकार गर्न वा पीडाको सामना गर्न तयार रहन चेतावनी दिएको छ । यसैबीच इजरायलले दक्षिणी लेबनानको नाबातिएह सहरमा गरेको हवाई आक्रमणमा नगरका मेयरसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणमा अन्य ४३ जना घाइते भएका छन् । लेबनानी प्रधानमन्त्रीको कार्यालयलले इजरायलले जानाजान नगर परिषद्को संकट समन्वय टोलीको बैठकलाई लक्ष्य बनाएको आरोप लगाएको छ । इजरायलले गाजामाथिको आक्रमणलाई पनि निरन्तरता दिएको छ । आज मात्रै हमासका एक जना कमान्डर र अन्य ५० लडाकुलाई मारेको इजरायलले दाबी गरेको छ ।

उता अमेरिकाले इजरायलाई ३० दिनभित्रमा गाजामा मानवीय सहायता सामग्रीको पहुँच बढाउन अन्यथा केही मात्रामा सैन्य सहायता कटौतिको सामना गर्न लिखित चेतावनी दिएको छ । इजरायली अधिकारीहरुले अमेरिकी पत्रमाथि विचार विमर्श भइरहेको जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.