क्यानडामा भारतीय कूटनीतिज्ञ र आएसएसमाथि प्रतिबन्ध लगाउन माग

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडामा भारतीय कूटनीतिज्ञ र आएसएसमाथि प्रतिबन्ध लगाउन माग

काठमाडौं । क्यानडाको विपक्षी दल न्यू-डेमोक्रेटिक पार्टी (एनडीपी) का नेता तथा सांसद जगमीत सिंहले क्यानडामा भारतीय कूटनीतिज्ञ र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सञ्जालमाथि प्रतिबन्ध लगाउन माग गर्नुभएको छ ।

गत सोमबार दुवै राष्ट्रले एक-अर्काका ६ जना कूटनीतिज्ञलाई निस्कासन गरेपछि क्यानेडेली सरकारको कदमलाई समर्थन गर्दै विपक्षी दलका नेता सिंहले वक्तव्य जारी गर्नुभएको हो । सिंहले क्यानडेली नागरिक, विशेष गरी क्यानडामा रहेका सिख समुदायहरु भारतीय अधिकारीबाट डर, धम्की, उत्पीडन र हिंसाको शिकार भइरहेको आरोपसमेत लगाउनुभएको छ ।

हरदीप सिंह निज्जरको हत्या सम्बन्धमा क्यानडासँग भारतविरुद्ध बलियो प्रमाण रहेको उहाँको दाबी छ । उहाँले आफूहरुको प्राथमिकता क्यानेडेली नागरिकलाई जबरजस्ती, हिंसा र चुनावी हस्तक्षेपबाट मुक्त वातावरण प्रदान गर्नु रहेको बताउनुभएको छ । सबै नेताहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र भारत सरकारलाई जवाफदेही बनाउन उहाँले आग्रहसमेत गर्नुभएको छ ।

उहाँले क्यानडाको भूमिमा संगठित आपराधिक गतिविधिमा संलग्न पाइएमा जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्न क्यानेडेली सरकारलाई आग्रह गर्नुभएको छ । यसैबीच, दुई देशले एकअर्काका कूटनीतिज्ञहरूलाई निष्कासन गरेको एक दिनपछि भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई क्यानडासँग बिग्रिएको सम्बन्धमा सबै राजनीतिक दलहरूलाई विश्वासमा लिन आग्रह गरेको छ ।

दुई देशबीचको सम्बन्ध बिग्रिएको विषय अत्यन्तै संवेदनशील र यो नाजुक मुद्दामा मोदीले अन्य राजनीतिक दलका नेताहरूलाई विश्वासमा लिने कांग्रेसले अपेक्षा गरेको पार्टी प्रवक्ता जयराम रमेशले बताउनुभएको छ ।

गत वर्ष क्यानाडेली भूमिमा सिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप क्यानडाले लगाउँदै आएको छ । अमेरिकाले ट्रुडो सरकारको आरोपलाई ‘अत्यन्त गम्भीर’ भन्दै भारतलाई अनुसन्धानमा सहयोग गर्न विशेष आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.